द्वन्द्वको खेती गर्नेहरु विफल भइरहेका छन्: उपप्रधानमन्त्री पोखरेल
२५ फागुन, बनियानी । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकमा द्वन्द्वको खेती गर्नेहरु विफल बन्दै गएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) झापाले आज यहाँ आयोजना गरेको कार्यक्रममा रक्षामन्त्री पोखरेलले भन्नुभयो, “मुलुकमा द्वन्द्वको खेती गरेर अस्थिरता मच्चाउने र सरकारलाई कमजोर बनाउने शक्तिहरु विफल बन्दै गएका छन् ।”

विदेशी शक्तिले केही पार्टीका नेतालाई आफ्नो देशमा बोलाएर प्रशिक्षण दिने र अस्थिरता सिर्जना गर्ने गतिविधि भइरहेको उहाँले बताउनुभयो । “द्वन्द्वकाल अघिपछिका मुद्दा उठाएर पार्टी र सरकारलाई कमजोर बनाउने प्रयास भइरहेको छ”, उहाँले भन्नुभयो, “त्यसो चालबाजी हामीलाई थाहा छ, देशका सबै समस्या समधान गर्न सरकार समक्ष छ ।”
भर्खरै सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भएको चर्चा गर्दै उहाँले यसले मुलुक निर्माणमा सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गर्नुभयो । आगामी आर्थिक वर्षमा वृद्ध भत्ता रू पाँच हजार बनाइने बताउँदै रक्षामन्त्री पोखरेलले भन्नुभयो, “नेकपाले चुनावताका गरेका घोषणा पूरा गर्छ ।”
हाल समृद्धिको जग बसाउने काम भइरहेकाले आगामी दिनमा समृद्धिको यात्राले क्रमशः पूर्णता पाउँदै जाने उहाँको भनाइ थियो । मुलुकको दुई ठूला कम्युनिष्ट पार्टी बीचको एकता कम्युनिष्टको विरोध गर्ने शक्तिको टाउको दुखाइको विषय बनेको उहाँले बताउनुभयो । “कम्युनिष्टबीचको एकता अहिले टाउको दुखाइको विषय बनेको छ”, उहाँले भन्नुभयो, “केही स्वार्थपरक तत्व एकतामा भाँजो हाल्न लागि परेका छन् । त्यो असफल हुने निश्चित छ ।”
प्रकाशित मिति : March 9, 2019 at 6:01 pm









