१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

अब विद्यालयमै कुखुरापालन शिक्षा अध्यापन गराउन थालियाे

–कृष्ण आचार्य
२४ फागुन, भरतपुर । कुखुरा पालनकोे राजधानीको रुपमा चिनिने चितवनमा दर्जनौँ ठूला ह्याचरी उद्योग छन् । ठूला ह्याचरी उद्योगले यहाँ हजारौँ चल्ला उत्पादन गर्दै आएका छन् ।ह्याचिङ्मार्फत चल्ला निकाल्ने प्रविधि विश्वविद्यालयस्तरको उच्च शिक्षामा मात्रै पढाइ हुने गरे पनि पछिल्लो समय ह्याचिङ प्रविधिबारे विद्यालयस्तरमा पनि अध्यापन गराउन थालिएको छ ।

पूर्वी चितवनको राप्ती नगरपालिका–२ पिप्लेस्थित बुद्धशान्ति माविले विद्यार्थीलाई प्राविधिक शिक्षाअन्तर्गत पशु विज्ञानका साथै ह्याचरी प्रविधिबारे पनि सिकाएको हो । विद्यार्थी २१ दिनमा ह्याचरीकमार्फत चल्ला निकाल्न सफल भएका छन् । “ह्याचरीबाट माघ २६ गते अण्डा ल्याएर २७ गते सेटिङमा राखेका थियौ”, विद्यालयका प्राविधिक शिक्षक डा मनोज पाण्डेले भन्नुभयो, “एक्काइस दिनको अवधिमा विद्यार्थी यो प्रविधिमार्फत चल्ला निकाल्न सफल भए ।

” सरकारी अनुदानमा प्राप्त अण्डामार्फत चल्ला निकाल्ने प्रविधि (एग इन्कुवेटर) ल्याएपछि विद्यार्थीले विद्यालयमै ह्याचरी उद्योगका लागि आवश्यक पर्ने प्राविधिक ज्ञान लिन पाएका हुन् । सो प्रविधिमार्फत एक पटकमा १३० सम्म चल्ला उत्पादन गर्न सकिन्छ । चल्ला निकाल्ने उपकरणको बजार मूल्य साढे रु दुई लाख पर्छ ।

“विद्यार्थीलाई व्यवहारिक शिक्षा प्रदान गर्नुपर्छ भन्ने हाम्रो उद्देश्य हो”, उहाँले भन्नुभयो, “समय समयमा गाईभैँसी, बाख्रा, बङ्गुर र कुखुराका फार्ममा स्थलगत अवलोकनमा समेत लैजाने गरेका छौँ ।” विद्यार्थीले व्यावसायिक कृषि फार्मको ‘प्रोजेक्ट रिपोर्ट’समेत बनाएको शिक्षक पाण्डेले बताउनुभयो ।

विद्यालयले तीन वर्षदेखि प्रविधिक शिक्षाअन्तर्गत पशुविज्ञान अध्यापन गराउँदै आएको छ । कक्षा ९ देखि यहाँ प्राविधिक शिक्षा सञ्चालित छ । कक्षा ९, १० र ११ मा भेटेनरी शिक्षा अध्ययन गर्ने ९० विद्यार्थी छन् । उक्त विद्यालयमा चितवनका साथै मकवानपुर र सिन्धुपाल्चोकका गरी एक हजार ४०० विद्यार्थी अध्ययनरत छन् ।

“विद्यालयमै आवासीय शिक्षा दिने तयारीमा छौँ”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार भट्टले भन्नुभयो, “ यसले अन्य जिल्लाबाट आएर अध्ययन गर्न चाहने विद्यार्थीका लागि सहज बनाउने छ ।” प्राविधिक शिक्षालाई कसरी गुणस्तरीय बनाउन सकिन्छ भन्नेतर्फ मात्र ध्यान केन्द्रित गरिएको उहाँले बताउनुभयो ।

यो अभ्यासले विद्यार्थीलाई व्यावसायिक बनाउन मद्दत पुग्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “विद्यार्थीलाई नेपालको कृषि क्षेत्रमै केही गर्न सक्ने बनाउने हाम्रो उद्देश्य हो, यस्ता प्रयोगात्मक कक्षाबाट व्यवहारिक ज्ञान आर्जन गर्नाका साथै आत्मविश्वास समेत बढ्छ ।” विद्यार्थीलाई विदेश पलायन हुन नदिन ठाउँ सुहाउँदो शिक्षा दिन जरुरी रहेको अध्यक्ष भटृले बताउनुभयो ।

विद्यालयका सहायक प्रधानाध्यापक सानुबाबु बर्ताैलाले सरकारले प्राविधिक शिक्षण व्यवस्थापनमा सहयोग गरेको बताउनुभयो । “साधारण र प्राविधिक दुवै शिक्षण व्यवस्थापनमा शिक्षकको कम दरबन्दीले गर्दा समस्या भएको छ”, उहाँले भन्नुभयो, “अहिले भएकै शिक्षकलले निःशुल्क अतिरिक्त कक्षा पढाइरहनुभएको छ ।”

आफँै स्रोत जुटाएर भए पनि प्राविधिक शिक्षाको गुणस्तरमा कमी आउन नदिन प्रयोगात्मक कक्षा सञ्चालनका साथै आम्दानी गर्ने वातावरण बनाउने प्रधानाध्यापक बर्तौलाले बताउनुभयो ।

आफ्नै अभ्यासबाट चल्ला निकाल्न सफल भएपछि विद्यार्थी मनोज बर्तौलाले प्रयोगात्मक कक्षाबाट सफलता मिल्नाकासाथै आत्मविश्वास पनि बढेको बताउनुभयो । “घर सल्लाहबाटै प्राविधिक शिक्षा रोजेको हुँ”, उहाँले भन्नुभयो, “अहिले नै केही गर्न सक्छु भन्ने आत्मविश्वास बढेको छ ।” अध्ययनपश्चात आफैँ व्यावसायिक फार्म खोल्ने योजना बनाएको उहाँले सुनाउनुभयो ।

प्रकाशित मिति : March 8, 2019 at 4:21 pm