१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

महिलाको विकास र शसक्तिकरण आवश्यक छ: राष्ट्रपति भण्डारी

२४ फागुन, काठमाडाैँ । महिलाको विकास र शसक्तिकरण आवश्यक भएकाे बताउँदै राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आ–आफ्नो क्षेत्रबाट अग्रसर हुन सबैमा अपिल गरेकीछिन् ।

१०९औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेकी छिन् । उनले सबै महिलाको हकअधिकार, समानता, सशक्तीकरण तथा मानव अधिकारप्रति पूर्ण समवेदनशील भइरहन प्रेरणा मिलोस् भनी कामना गरेकी छिन् ।

“संविधानले सुनिश्चित गरेको व्यवस्था र संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्म पूरा गर्नेगरी तय गरेको दिगो विकास लक्ष्यमा महिला सशक्तीकरण र लैङ्गिक समानतालाई प्राथमिकताका साथ उठाइ कार्यान्वयनका लागि नीतिगत, संस्थागत कार्यक्रमकोसमेत थालनी गरिसकेको अवस्थामा यी सबै प्रावधान र प्रयासलाई सफल बनाउन सकेमा सबै महिलाका लागि नेपाल अनुकरणीय बन्न सक्ने बताएकीछिन् ।

शुभकामना सन्देशको पूर्णपाठ

१०९ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमास्वदेश तथा विदेशमा रहनुभएकासम्पूर्ण दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना दिन चाहन्छु । ‘लैङ्गिक समानताका लागि समान सोंच र व्यवहार : समृद्धिको आधार’ भन्ने यस वर्षको अन्तर्राष्ट्रियदिवसको राष्ट्रिय नाराले सम्पूर्ण महिलाको चौतर्फि विकास र शसक्तिकरण अतिआवश्यक छ भन्ने सन्देश दिइरहेको छ ।

संयुक्त राष्ट्रसंघले सन् २०३० सम्म पूरा गर्ने गरी तय गरेको दिगो विकास लक्ष्यमा महिला सशक्तिकरण र लैङ्गिक समानतालाई प्राथमिकताका साथ उठाएको छ । नेपालको संविधानले पनिमहिलाको सम्मानजनक सहभागिता सुनिश्चित गर्ने व्यवस्था गरेको छ । यसको मर्म र भावना बमोजिम कार्यान्वयन गर्न नीतिगत, संस्थागत र कार्यक्रमहरुको समेत थालनी गरिसकेको अवस्था छ । यी सबै प्रावधान र प्रयासहरुलाई सफल बनाउन सकेमा सबै महिलाहरुका लागि नेपाल अनुकरणीय बन्न सक्नेछ । यस अवसरमा महिला विरुद्ध हुने सबै प्रकारका विभेद र उत्पिडनको अन्त्य गर्ने काममा आ-आफ्नो क्षेत्रबाट अग्रसर हुन म सबैमा आग्रह गर्दछु ।।

अन्तमा, यो दिवसलेहामी सबैलाई महिलाहरुको हक, अधिकार, समानता, सशक्तिकरण तथा मानव अधिकार प्रति पूर्ण सम्वेदनशील भईरहन प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

प्रकाशित मिति : March 8, 2019 at 10:09 am