१६ पुष २०८२, बुधबार | Wed Dec 31 2025

रेशम चौधरीलाई जन्मकैदको फैसलापछि राजपा नेपालले बोलायो आकस्मिक बैठक

२२ फागुन,काठमाडौँ । रेशम चौधरी लगायत ११ जनालाई कैलाली जिल्ला अदालतले  जन्मकैदको फैसला गरेपछि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको आकस्मिक बैठक बसेको छ । कैलालीको टिकापुरमा ८ जनाको ज्यान जाने गरि भएको घटनामा राजपा नेपालका नेता समेत रहेका रेशम चौधरीलाई मुख्य आरोपी ठहर्याएको थियो । प्रहरीको खोजीमा रहेका रेशम चौधरी भारतमा बस्दै आएका थिए ।

पार्टीको सल्लाहमा पछि कैलाली जिल्ला अदालतमा हाजिर हुन जाँदा उनलाई पूर्पक्षका लागि थुनामा राखिएको थियो । उनी फरार रहेकै अवस्थामा कैलाली १ बाट प्रतिनिधिसभाको चुनाव जितेका थिए । उनी प्रतिनिधिसभा चुनाव जितेपनि निर्वाचन आयोगले प्रमाणपत्र दिएको थिएन । यता संसद सचिवालयले प्रतिनिधिसभा सदस्यको रुपमा सपथ पनि खुवाएको थिएन ।

थुनामा रहेका रेशम चौधरीको रिहा र थुनामुक्त गर्न राजपा नेपालले दवाव दिएपछि सरकारले पुस १९ गते सपथग्रहण गराएको थियो । मंगलवार कैलाली जिल्ला अदालतमा बहस हुँदा उनीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको छ । अदालतले यस्तो निर्णय गरेपछि राजपा नेपालकाे बैठक बसिरहेको छ ।

 

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार १५:५७