२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

लुटपाट गर्ने र चन्दा उठाउने धन्दा गर्ने समुहलाई कम्यूनिष्ट भन्न सकिदैनः प्रधानमन्त्री ओली

२१ फागुन, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदको सपना पुरा गर्न पार्टी एकता गरिएको बताउनुभएको छ । ४६ औं सुखानी स्मृति दिवशको अवसरमा आज झापामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।प्रधानमन्त्री ओलीले २०२९ सालमा जनताका हक अधिकारको माग गर्ने युवाहरुलाई जेल सार्ने बहानामा सुखानीमा ल्याएर गोली हानेर मारिएको प्रधानमन्त्री ओलीले स्मरण गर्नुभयो । “म भागेर बचें नत्र त्यती बेला म पनि मारिन सक्थें” प्रधानमन्त्री ओलीले भन्नुभयो “हामीले त्यसबेला पञ्चायतको अन्त्य र गणतन्त्र स्थापनाको माग उठाएका थियौं ।”

प्रधानमन्त्री ओलीले झापा आन्दोलनले उठाएका र पुरा हुन बाँकी रहेका मागहरु त्यसपछिका कम्यूनिष्ट आन्दोलनले पुरा गरेको बताउनुभयो । “झापा आन्दोलनका सहिद मात्र होइन गणतन्त्रका लागि लडेका सबै सहिदहरुको योगदान महत्वपूर्ण छ ” प्रधानमन्त्री ओलीले सुखानीबाट भन्नुभयो “म यही सहिद भूमीबाट भन्न चाहन्छु तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी)को पार्टी एकता पनि सहिदका सपना पुरा गर्नका लागि भएको हो ।”

प्रधानमन्त्री ओलीले लुटपाट गर्ने,चन्दा उठाउने धन्दा गर्ने समुहलाई कम्यूनिष्ट भन्न नसकिने बताउनुभयो । “जनतालाई चक्कु देखाएर कम्यूनिष्ट पार्टीको नाम लिने काम बन्द गर्नुहोस” प्रधानमन्त्री ओलीले भन्नुभयो “म यो सहिद भूमीबाट फेरी एक पटक आह्वान गर्छु ,कोही वास्तविक कम्यूनिष्ट हुनुहुन्छ भने नेकपा आएर समाहित हुनुहोस ।” प्रधानमन्त्री ओलीले सरकारले देशै भरी विकासको माहोल ल्याएको बताउनुभएको छ । “केही तत्वहरुले जनता भाँड्न सरकारले केही गरेन भने पनि सरकार विकास,निर्माण , सुशासनमा जिम्मेवारीपूर्वक लागि परेको हो ।”

प्रधानमन्त्री ओलीले सुखानी सहिदको सालिकमा माल्यापर्ण गर्नुभएको छ । २०२९ साल फागुन २१ गते झापबाट इलाम जेल सार्ने बहानामा रामनाथ दाहाल,नेत्र घिमिरे,कृष्ण कुंइकेल,विरेन राजवंसी र नारायण श्रेष्ठलाई सुखानीको जंगलमा गोली हानी हत्या गरिएको थियो । कार्यक्रममा नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि मन्तव्य राख्नु भएको थियो ।    

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलवार २०:५९