नेपाल पत्रकार महासङ्घद्वारा रास्वपा पार्टी कार्यालय अगाडि धर्ना (तस्बिरहरू)
१३ मंसिर, काठमाडौं । नेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारका अधिकार सुनिश्चित गर्न माग गर्दै आज रास्वपा पार्टी कार्यालय अगाडि धर्ना दिएको छ। दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणप्रति अनुदार व्यवहार देखाएको भन्दै महासंघ आन्दोलनमा उत्रिएको हो ।

समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने मनसायसहित प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भएको तथा सञ्चारमाध्यममा अवरोध पुर्याउनेमाथि कारबाही नभएको महासङ्घको आरोप छ ।

गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबरजस्ती निष्कासन गरिएको, श्रम अधिकार उल्लङ्घन भएको र लोककल्याणकारी विज्ञापनबापतको रकम उपलब्ध नगराइएको पनि आन्दोलनको एजेण्डा छ । दोस्रो चरणको घोषित कार्यक्रमअनुसार १३ मंसिरमा रास्वपा कार्यालय, १४ मंसिरमा कांग्रेसको कार्यालय, १५ मंसिरमा एमाले, १६ मंसिरमा नेकपा, १७ मंसिरमा श्रम संस्कृति पार्टी र १८ मंसिरमा राप्रपाको कार्यालयमा धर्ना दिने कार्यक्रम तय गरिएको छ ।

यसैगरी, २० मंसिरमा काठमाडौँको माइतीघर तथा काठमाडौं बाहिरका जिल्लाका सदरमुकाममा कालो लुगा, कालोपट्टी र कालो मास्क लगाएर प्रदर्शन गर्ने महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : November 29, 2026 at 1:28 pm














