४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026

विखण्डनको नारा बोक्ने सिके राउतलाई कारबाही गर्नुपर्छः अध्यक्ष थापा

२१ फागुन, हेटौँडा । राप्रपाका अध्यक्ष कमल थापाले मुलुकमा लोकतन्त्रको पुनस्र्थापना गरेर जनतालाई अधिकार सम्पन्न बनाउन आन्दोलन सफल भए पनि विखण्डन गर्ने समूह देखापर्नु अत्यन्तै दुःखद भएको बताउनुभएको छ ।

राप्रपा केन्द्रीय समितिद्वारा आयोजित मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राअन्तर्गत ३ नं प्रदेशको यहाँ आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनताद्वारा निर्वाचित दुई तिहाइ बहुमतको सरकारले मुलुकलाई विखण्डन गर्ने समूहले तराईमा आफ्ना क्रियाकलाप सञ्चालन गर्दा पनि मुकदर्शक भएर बस्न नहुने धारणा व्यक्त गर्नुभयो । उहाँले सरकारले संवैधानिक प्रक्रियाअनुसार ती समूहलाई कार्वाही अगाडि बढाउन आग्रह गर्नुभयो । उहाँले तराइमा विखण्डनको नारा लिएर अघि बढिरहेको सिके राउतको समूहलाइ कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले ती समूहलाई कार्वाही गर्दा नेपाली जनताले वर्तमान सरकारलाई दरिलो साथ दिने उल्लेख गर्नुभयो । अध्यक्ष थापाले राष्ट्रमा दिगो शान्ति प्रक्रियालाई धरापमा पार्ने विप्लव नेतृत्वको नेकपाका तर्फबाट अहिले देखिएका हिंसात्मक गतिविधिलाई नियन्त्रण गर्न नसके ठूलो दुर्घटना हुने सम्भावना बढेकाले सरकार र राजनीतिक दलको नेतृत्वले नयाँ ढङ्गबाट निकास लिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सो अवसरमा राप्रपाका वरिष्ठ नेता बुद्धिमान तामाङ, राप्रपाका महामन्त्री राजेन्द्र लिङदेन, मकवानपुरका अध्यक्ष मधु अधिकारी, केन्द्रीय सदस्य दीपक सिंह र सहमहामन्त्री राजाराम बर्तौलाले बाह्य शक्तिको चलखेल र देश विखण्डन गर्ने समूहलाई नियन्त्रण गर्न सरकारले छिट्टै अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । रासस

प्रकाशित मिति : March 5, 2019 at 7:55 pm