स्वास्थ्य बीमामा अब डिजिटल कार्डबाटै सेवा लिन सकिने
९ मंसिर, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा परिचय पत्रको फोटोकपीका आधारमा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन परिपत्र गरेको छ। बोर्डले बुधबार जारी गरेको सूचनामा स्वास्थ्य बीमा परिचयपत्रको भौतिक प्रति वा डिजिटल कार्ड अथवा विवरण स्पष्ट देखिने फोटोकपी पेस गरिएको अवस्थामा सम्बन्धित व्यक्तिको बीमा नम्बर आफ्नो दर्ता प्रणालीमा भिडान गरी बीमित भए/नभएको यकिन गरेर स्वास्थ्य बीमाअन्तर्गतको सेवा प्रवाह गर्न आग्रह गरेको छ।

बोर्डका अनुसार स्वास्थ्य बीमा परिचयपत्रको भौतिक प्रति साथमा नभएको कारण मात्रै बीमितलाई स्वास्थ्य बीमाअन्तर्गत प्राप्त हुने सेवाबाट वञ्चित नगर्न सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई अनुरोध गरेको छ। बोर्डका प्रवक्ता एवं वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. पवनकुमार साहले जारी गरेको सूचनामा डिजिटल कार्ड (Digital Card) वा त्यसको विवरण स्पष्ट देखिने फोटोकपीलाई समेत सेवा प्राप्त गर्ने आधारका रूपमा स्वीकार गर्न भनिएको छ।
प्रकाशित मिति : November 25, 2026 at 2:00 pm













