४ महिनामै कोरला नाकाबाट ७ हजार ईभी आयात
६ मंसिर, काठमाडौं । चालु आर्थिक वर्षको सुरुवाती चार महिनामा नेपाल–चीन सीमामा अवस्थित कोरला नाका हुँदै ७ हजार थान विद्युतीय सवारीसाधन (इभी) नेपाल आयात भएका छन्। मुस्ताङ भन्सार कार्यालयको तथ्याङ्कअनुसार यति छोटो अवधिमा यति ठूलो परिमाणमा विद्युतीय सवारी भित्रिएको यो पहिलो पटक हो । यसअघि गत आर्थिक वर्षभरिमा यो नाकाबाट जम्मा ३ हजार २२३ वटा मात्रै इभी नेपाल भित्रिएका थिए ।
गत भदौ १० गते रसुवाको भोटेकोसी बाढीका कारण रसुवागढी नाका पूर्ण रुपमा बन्द भएकाले विद्युतीय सवारीसहितका मालसामान यस नाकाबाट आउने क्रम वृद्धि भएको हुन सक्ने भन्सार कार्यालय अधिकृत अमिन्द्र सिंहले जानकारी दिए । उनका अनुसार, चालु वर्षको साउनमा एक सय, भदौमा एक हजार २५३ तथा असोज र कात्तिकमा थप पाँच हजार ६४७ को सङ्ख्यामा ती विद्युतीय नेपाल भित्रिएका हुन् ।

चालु आवको पहिलो चौमासिकमै कार्यालयले १२ अर्ब ५५ करोड १४ लाख रुपैयाँ राजस्व उठाएको छ, जुन वार्षिक लक्ष्य ९ अर्ब रुपैयाँ भन्दा ३ अर्ब ५५ करोड १४ लाख रुपैयाँले बढी हो । भन्सार कार्यालयका अनुसार चालु वर्षको पहिलो चार महिनामा चीनतर्फबाट ३० अर्ब ९ करोड ९ लाख रुपैयाँ बराबरका सामग्री आयात भएका छन् ।
आयातित मुख्य वस्तुहरूमा विद्युतीय सवारीसहित लत्ताकपडा, कस्मेटिक, इलेक्ट्रोनिक्स, निर्माण सामग्री, फलफूल र खाद्यान्न पर्दछन् । सोही अवधिमा नेपालबाट भने २९ करोड ५२ लाख रुपैयाँभन्दा बढीका हस्तकला तथा स्वदेशी उत्पादनहरू चीनतर्फ निर्यात भएका छन् ।
प्रकाशित मिति : November 22, 2026 at 5:36 pm













