वैदेशिक रोजगार ठगीका फरार आरोपितको बैंक खाता रोक्का गरिने
६ मंसिर, काठमाडाैँ । वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी हुँदासमेत फरार रहेका व्यक्तिहरूको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढ्ने भएको छ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले यससम्बन्धी जानकारी दिए ।
वैदेशिक रोजगार विभागले ठगीसम्बन्धी मुद्दामा संलग्न भई फरार रहेका व्यक्तिहरूलाई ३५ दिनभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन सार्वजनिक सूचनामार्फत आग्रह गरेको थियो । विभागले यहि कात्तिक ९ गते सूचना जारी गर्दै तोकिएको अवधिभित्र सम्पर्कमा नआए उनीहरूको बैंक खाता तथा यात्रा अनुमतिसम्बन्धी प्रक्रिया रोक्का गरिने जनाएको थियो ।

विभागले जारी गरेको पत्रअनुसार सूचनाको म्यादभित्र उपस्थित नभएका व्यक्तिहरूको विवरण संकलन गरी बैंक खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गर्ने तयारी गरिएको छ । यसका लागि आगामी मंसिर १४ गते नेपाल राष्ट्र बैंकलाई औपचारिक पत्र पठाइने मन्त्री यादवले जनाएका छन् । विभागले सम्बन्धित शाखालाई फरार व्यक्तिहरूको सूची तयार गरी नेपाल राष्ट्र बैंकमा पठाउने प्रक्रिया अघि बढाउन निर्देशनसमेत दिएको छ ।
प्रकाशित मिति : November 22, 2026 at 10:32 am













