६ मंसिर २०८३, शनिबार | Sat Nov 21 2026

दैलेखमा श्रीमती र ३ छोराछोरीमाथि बाबुले गरे बञ्चरो प्रहार, दुईकाे ज्यान गयाे, एककाे अवस्था गम्भीर

https://www.muktinathbank.com.np/online/loan-application

५ मंसिर, काठमाडाैँ । दैलेखमा एक व्यक्तिले आफ्नै परिवारमाथि बन्चरो प्रहार गर्दा श्रीमती र दुई सन्तानको ज्यान गएको छ। बन्चरो प्रहारबाट गम्भीर घाइते भएका अर्का एक छोरा अस्पतालमा उपचाररत छन्।

चामुण्डा बिन्द्रासैनी नगरपालिका–३, पानीखोलामा शुक्रबार बिहान भएको घटनामा ३८ वर्षीय अम्बर सलामी मगरले घरायसी विवादका क्रममा श्रीमती र तीन सन्तानमाथि दाउरा काट्ने बन्चरो प्रहार गरेका थिए।

उनको प्रहारबाट ३५ वर्षीया श्रीमती मनिषा सलामी मगर, १२ वर्षीय छोरा तपेन्द्र, ६ वर्षीय छोरा मिलन र ३ वर्षीया छोरी करिस्मा गम्भीर घाइते भएका थिए। चारै जनाको टाउकोमा बन्चरोको चोट लागेको प्रहरीले जनाएको छ।

घटनापछि घाइतेहरूलाई तत्काल एम्बुलेन्समार्फत उपचारका लागि दुल्लुस्थित नगर अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा परीक्षणका क्रममा बिहान ११ः१० बजे तपेन्द्र र करिस्मालाई चिकित्सकले मृत घोषणा गरेका थिए।

गम्भीर अवस्थामा रहेका मनिषा र मिलनलाई थप उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँ पठाइएको थियो। सुर्खेत पुर्‍याइएकी मनिषाको दिउँसो २ः१० बजे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

आक्रमणबाट गम्भीर घाइते भएका ६ वर्षीय मिलनको भने प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षक सरोज कँडेलको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी चौकी हाँडाकोटबाट करिब तीन किलोमिटर दूरीमा रहेको घटनास्थलबाट प्रहरीले आक्रमणमा संलग्न अम्बरलाई नियन्त्रणमा लिएको छ।

सामान्य घरायसी विवादले यति भयावह रूप लिनुको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति : November 21, 2026 at 3:55 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/