१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

सशस्त्र प्रहरीका सहायक हवल्दार नै चोर, चमतीमा डकैती गर्न जाँदा तीन तला माथिबाट खसे

२१ फागुन, काठमाडाैँ । जो रक्षक उही भक्षक भन्ने उखान चरितार्थ गर्नेहरू विस्तारै बढ्दै गएका छन । नागरिकको घरमा चोरी, डकैती भएमा शान्ति सुरक्षा दिनुपर्ने प्रहरीहरू नै चोरी डकैतीमा संलग्न हुन थालेका छन । सोमबार राति चमतीको एक घरमा चोरी गर्न गएका सशस्त्र प्रहरीका सहायक हवल्दार शंकर श्रेष्ठ स्थानीयले चोर चोर भनेर चिच्याउँदा तीन तलमाथिबाट सडकमा खसेका छन ।

काठमाडाैँ महानगरपालिका वडा नम्बर १५ मा रहेको इन्जिनियर दामोदर ढुंगानाको घरमा चोरी गर्न गएका शंकरलाई सडकमा खसेपछि महानगरीय प्रहरी वृत स्वयम्भूको जिम्मा लगाए तर प्रहरीले सशस्त्र प्रहरीलाई नै बोलाएर जिम्मा लगाएर पठाइदिएको छ । ढुंगाना परिवारका अनुसार घरको तल्लो तलका सबै कोठामा बाहिरबाट चुकुल लगाउँदै तेस्रो तलामा पुगेका श्रेष्ठ चोरचोर भनेर चिच्याएपछि तीन तलामाथिबाट फाल हालेका थिए । उनको साथमा सशस्त्र प्रहरीको परिचय पत्र देखेपछि स्थानीयले कारबाहीका लागि प्रहरीको जिम्मा लगाएका थिए ।

सामान्य मान्छे चोरीमा संलग्न भएको भए कारबाहीका लागि तयार हुने नेपाल प्रहरीले सशस्त्र प्रहरीका सहायक हवल्दारलाई भने सशस्त्र प्रहरीकै असइ रघुनाथ ढकालको जिम्मा लगाएर पठाएका छन । महानगरीय प्रहरी वृत्त स्वयम्भुमा दैनिकीले सम्पर्क गर्दा असइ ढकालको जिम्मामा चोरीमा संलग्न श्रेष्ठलाई पठाएको जानकारी दिए । यस्तै उनको राष्ट्रिय ट्रम सेन्टरमा चेकजाँच हुँदा करङका पाँचवटा हड्डी भाँचिएको प्रहरीले जनाएको छ । उनले चोरेरै केही लान नपाए पनि सुरक्षाकर्मी नै चोरी गर्न टोल छिरेपछि चमतीवासी भने अातंकित बनेका छन ।

 

प्रकाशित मिति : March 5, 2019 at 7:48 am