३ मंसिर २०८३, बुधबार | Wed Nov 18 2026

पुँजी बजार सुधारका लागि नेप्से र मर्चेन्ट बैंकर्स संघबीच छलफल

https://www.muktinathbank.com.np/online/loan-application

२ मंसिर, काठमाडौं । नेपालको पुँजी बजारमा डिजिटल रूपान्तरण, नयाँ वित्तीय उपकरणको विकास तथा कारोबार प्रणाली सुधारका विषयमा नेपाल मर्चेन्ट बैंकर्स संघ (एमबीएएन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से) बीच छलफल भएको छ।नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष रामेन्द्र रायमाझीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बुधबार नेप्सेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदीसँग भेट गरी पुँजी बजारका विद्यमान चुनौती, सम्भावित अवसर र भावी विकासका विषयमा छलफल गरेको हो।

छलफलमा नयाँ वित्तीय उपकरण तथा लगानीका साधन विकास, डिजिटल रूपान्तरण, साना तथा मझौला उद्यमका लागि छुट्टै कारोबार मञ्च निर्माण, बजार पूर्वाधार सुदृढीकरण र कारोबार तथा राफसाफ प्रणालीमा सुधारका विषय उठाइएको थियो।

संघले पुँजी बजारमा नयाँ वित्तीय उपकरणको विकास, बजार विविधीकरण र संस्थागत सुदृढीकरणमा जोड दिएको छ। साथै, नेप्सेको संस्थागत रूपान्तरणमार्फत व्यावसायिक कार्यसंस्कृति विकास, कार्यसञ्चालन दक्षता वृद्धि र संस्थागत क्षमता अभिवृद्धि गर्नुपर्ने विषयमा पनि छलफल भएको छ।

भेटमा संस्थापक समूहको सेयर कारोबारमा देखिएका समस्याबारे समेत चर्चा भएको थियो। विशेषगरी संस्थापक सेयरको मूल्य निर्धारण, लिलामी प्रक्रियामा देखिएका समस्या र संस्थापक सेयरधनीले आफ्नो लगानीबाट सहज रूपमा बाहिरिन नपाएको विषयमा छलफल भएको संघले जनाएको छ।

संस्थापक सेयर कारोबारका लागि स्पष्ट, व्यावहारिक, पारदर्शी र बजारमुखी मूल्य निर्धारण प्रणाली आवश्यक रहेकोमा दुवै पक्षले जोड दिएका छन्। यस्तै, बुक बिल्डिङ प्रणाली कार्यान्वयनमा देखिएका चुनौती र त्यसका लागि आवश्यक प्रविधिगत पूर्वाधार तथा विशेष सफ्टवेयरको उपलब्धताबारे पनि छलफल भएको थियो।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत सुवेदीले स्टक एक्सचेन्जको आधुनिकीकरण, कार्यसञ्चालन प्रणालीमा सुधार र पुँजी बजारको बदलिँदो आवश्यकताअनुसार सुधारका काम अघि बढाउने बताएका छन्। उनले सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्दै विद्यमान चुनौती समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। भेटले पुँजी बजारमा नवीनता प्रवर्द्धन, बजार पूर्वाधारको सुदृढीकरण तथा समग्र बजारको आधुनिकीकरण र दिगो विकासका लागि संघ र नेप्सेबीच निरन्तर संवाद तथा सहकार्य अघि बढाउने समझदारी बनेको संघले जनाएको छ।

प्रकाशित मिति : November 18, 2026 at 5:50 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/