राष्ट्र बैंकले नष्ट गर्यो ७ खर्ब ६५ अर्ब बराबरकाे नोट
२ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले एक वर्षमा ७ खर्ब ६५ अर्ब ७४ करोड रुपैयाँ बराबरका पुराना नोट नष्ट गरेको छ। गत आर्थिक वर्ष केन्द्रीय बैंकले झुत्रा, मैला र च्यातिएका तथा चलनचल्तीमा पठाउन अयोग्य नोट नष्ट गरेको हो । २०८३ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरू एवं सर्वसाधारणले यस बैंकमा जम्मा गर्न/सट्टाभर्ना लिन ल्याएका झुत्रा, मैला र च्यातिएका तथा चलनचल्तीमा पठाउन अयोग्य विभिन्न दरका नोट धुल्याइ ब्रिकेट बनाएको केन्द्रीय बैंकले जनाएको छ ।
केन्द्रीय बैंकका अनुसार २०८२ असार मसान्तसम्म विभिन्न दरका गरी ७ खर्ब ६१ अर्ब ४१ करोड बराबरका नोट चलनचल्तीमा रहेकोमा २०८३ असार मसान्तसम्म ६.०८ प्रतिशत वृद्धि भई ८ खर्ब ७ अर्ब बराबर नोट चलनचल्तीमा छन् ।राष्ट्र बैंकले नयाँ नोटको मौज्दात पनि बढाएको छ। २०८३ असार मसान्तसम्म केन्द्रीय बैंकसँग विभिन्न दरका ८८ अर्ब ९४ करोड ८ लाख ५० हजार रुपैयाँ बराबरका नयाँ नोट मौज्दात छन्। अघिल्लो वर्ष यस्तो मौज्दात ५१ अर्ब ५१ करोड ८२ लाख ४९ हजार रुपैयाँ थियो।

नोटको माग पूरा गर्न राष्ट्र बैंकले विभिन्न दरका नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय कम्पनीसँग सम्झौता गरेको छ। बैंकनोट डिजाइन, छपाइ र आपूर्तिका लागि ६ वटा अन्तर्राष्ट्रिय सेक्युरिटी प्रिन्टर्स कम्पनीलाई पूर्वयोग्यता सूचीमा समावेश गरिएको बैंकले जनाएको छ।
गत आर्थिक वर्षमा पाँच रुपैयाँ दरका ३५ करोड थान नोट करारअनुसार आपूर्ति भई ढुकुटीमा राखिएका छन्। १० रुपैयाँ दरका ३४ करोड थान नोट छपाइ तथा आपूर्तिका लागि भएको सम्झौताअन्तर्गत पहिलो र दोस्रो लटमा २३ करोड थान आपूर्ति भएका छन्।
त्यस्तै, १०० रुपैयाँ दरका ३० करोड थान नोट छपाइ तथा आपूर्तिको सम्झौताअन्तर्गत २१ करोड थान आपूर्ति भई ढुकुटीमा राखिएका छन्। ५०० रुपैयाँ दरका २३ करोड थान नोट छपाइको सम्झौताअन्तर्गत पहिलो लटमा १२ करोड थान आपूर्ति भएका छन्। यसैगरी ५० रुपैयाँ दरका ४२ करोड र एक हजार रुपैयाँ दरका ४३ करोड थान नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि करार सम्झौता भएको राष्ट्र बैंकले जनाएको छ।
प्रकाशित मिति : November 18, 2026 at 4:42 pm













