१ मंसिर २०८३, सोमबार | Mon Nov 16 2026

बालेन सरकारले भत्काएका १५ मान्यता

३० कात्तिक, काठमाडौँ । पत्रकार तथा पूर्वप्रधानमन्त्री सुशीला कार्कीका प्रेस सल्लाहकार राम रावलले बालेन्द्र शाह नेतृत्वको सरकारले सरकार सञ्चालनको परम्परागत शैलीमा उल्लेख्य परिवर्तन ल्याएको दाबी गरेका छन् ।

रावलले सामाजिक सञ्जालमार्फत बालेन सरकार सञ्चालनमा देखिएका केही परिवर्तनलाई १५ बुँदामा प्रस्तुत गर्दै विगतमा स्थापित कतिपय राजनीतिक तथा प्रशासनिक मान्यतामा ‘ब्रेक’ लागेको बताएका हुन् ।

उनका अनुसार सरकार सञ्चालनमा देखिएका प्रमुख परिवर्तन यस्ता छन् :

१. देशका प्रमुख कार्यकारी नियमित कार्यालय सिंहदरबारमा उपस्थित हुने र बिहान ९ देखि साँझ ५ बजेसम्म सरकारको काममा केन्द्रित हुने अभ्यास सुरु भएको ।

२. बालुवाटारलाई विशुद्ध प्रधानमन्त्री निवासका रूपमा प्रयोग गर्ने र सरकारी, गैरसरकारी तथा दलीय बैठक, भेला तथा भोजभतेर गर्ने परिपाटी अन्त्य भएको ।

३. सांसद, कार्यकर्ता तथा चन्दादाता व्यापारीको भीडले प्रधानमन्त्रीलाई बिहानदेखि राति अबेरसम्म घेर्ने परिपाटीमा ब्रेक लागेको ।

४. औपचारिकताका लागि गरिने ‘डेलिगेसन’ भेटघाटको परम्परा निरुत्साहित भएको ।

५. प्रधानमन्त्री दिनहुँजसो विभिन्न कार्यक्रममा पुगेर रिबन काट्ने कर्मकाण्डबाट अलग भएको ।

६. अनावश्यक भाषण, प्रवचन, उपदेश तथा सार्वजनिक गफगाफमा प्रधानमन्त्रीको संलग्नता घटेको ।

७. प्रधानमन्त्री पार्टीको कामको बोझबाट अलग भएर सरकार सञ्चालनमा केन्द्रित भएको र पार्टीको जिम्मेवारी पार्टी नेतृत्वमै सीमित भएको ।

८. पार्टीको निर्देशन तथा नियन्त्रणबाट सरकारलाई अलग राख्दै प्रधानमन्त्रीले वास्तविक कार्यकारीको भूमिका निर्वाह गर्न थालेको । त्यससँगै सरकारका कामको जस–अपजसको पूर्ण जिम्मेवारी पनि प्रधानमन्त्रीले नै लिनुपर्ने अवस्था बनेको ।

९. प्रधानमन्त्रीको सवारीका नाममा सडक तथा विमानस्थलमा हुने अनावश्यक तामझाम, तडकभडक, लावालस्कर तथा कार्यकर्ताको ताँतीजस्ता दृश्यमा कमी आएको ।

१०. प्रधानमन्त्रीसँगको निकटता देखाएर सरकारी काम गराउन खोज्ने प्रवृत्तिमाथि नियन्त्रण बढेको र त्यस्ता व्यक्तिहरू प्रहरीको फन्दामा पर्न थालेको ।

११. कर्मचारीका दलीय संगठनको प्रभाव घटेको र ती संगठनबाट हुने अराजकता नियन्त्रणतर्फ सरकार अघि बढेको ।

dainiki.com

१२. कर्मचारी नेताहरूको दादागिरी तथा बिचौलियागिरी नियन्त्रणमा आएको ।

१३. सरकारले खटाएको वा सरुवा गरेको ठाउँमा नजाने तथा विभिन्न बहानामा आलटाल गर्ने कर्मचारीको प्रवृत्तिमा धेरै हदसम्म सुधार आएको ।

१४. ‘सरकारले कारबाही गर्छ र हामी निगरानीमा छौँ’ भन्ने भय राज्यका विभिन्न तहमा देखिन थालेको ।

१५. विभिन्न क्षेत्रका दलाल तथा बिचौलियाको प्रभाव कमजोर भएको र कम्तीमा प्रधानमन्त्रीले बिचौलियाको कुरा सुन्दैनन् भन्ने बुझाइ स्थापित हुन थालेको ।

रावलले यससँगै विगतमा सरकार सञ्चालनसँग जोडिएको अर्को मान्यतासमेत कमजोर भएको दाबी गरेका छन् । उनका अनुसार ‘ब्रिफकेस’ नदिई काम हुँदैन भन्ने मान्यता खण्डित भएको छ र कम्तीमा प्रधानमन्त्री वा उनको परिवारलाई प्रभावित पारेर काम गराउनुपर्ने अवस्था नरहेको उनको बुझाइ छ ।

रावलले आफ्नो टिप्पणीको अन्त्यमा यी विषय आफ्नो बुझाइमा आधारित रहेको स्पष्ट गर्दै तथ्य गलत भए सच्याउन र थप विषय भए थप्नसमेत सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेका छन् ।

उनको यो टिप्पणीमा उनले बालेन सरकारको कार्यशैलीलाई विगतका सरकारको तुलनामा फरक देखाउन खोजेका छन् । यद्यपि उनले उल्लेख गरेका सबै बुँदा वस्तुगत तथ्य वा स्वतन्त्र रूपमा प्रमाणित निष्कर्ष हुन् भन्ने आवश्यक छैन । कतिपय बुँदा उनको व्यक्तिगत मूल्याङ्कन र राजनीतिक–प्रशासनिक विश्लेषणका रूपमा आएका छन् ।

प्रकाशित मिति : November 16, 2026 at 8:46 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/