ढाका टोपीमा अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजको सम्बोधन
२१ कात्तिक, सिड्नी । अस्ट्रेलियाका प्रधानमन्त्री तथा अष्ट्रेलियन लेबर पार्टीका नेता एन्थोनी अल्बानिजले तिहारको अवसरमा सिड्नीमा आयोजित नेपाल महोत्सवमा सहभागी हुँदै नेपाली समुदायसँग तिहार मनाएका छन्।
सिड्नीमा नेपाली समुदायको सहभागितामा आयोजित नेपाल महोत्सवमा सहभागी भएका प्रधानमन्त्री अल्बानिजले नेपाली समुदायको संस्कृति, परम्परा र अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली समुदायको योगदानको प्रशंसा गरेका छन्।
महोत्सवमा सहभागी भएपछि अल्बानिजले आफ्ना सामाजिक सञ्जालका माध्यमबाट महोत्सवका तस्बिरहरू सार्वजनिक गर्दै नेपाली समुदायसँग तिहार मनाउन पाउँदा खुसी लागेको बताएका छन्।

उनले लेखेका छन्, “Wonderful to celebrate Tihar with our Nepalese community in Sydney today. Diversity is our strength, and your community is such an important part of that.”
अर्थात्, ‘आज सिड्नीमा हाम्रो नेपाली समुदायसँग तिहार मनाउन पाउँदा निकै खुसी लाग्यो। विविधता नै हाम्रो शक्ति हो र नेपाली समुदाय त्यसको महत्वपूर्ण हिस्सा हो।’
अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली समुदायको महत्वपूर्ण स्थान रहेको उल्लेख गर्दै प्रधानमन्त्री अल्बानिजले नेपाली समुदायलाई आफ्नो देशको विविधताको महत्वपूर्ण अंगका रूपमा प्रस्तुत गरेका छन्।
नेपाल महोत्सव अस्ट्रेलियामा नेपाली कला, संस्कृति, परम्परा, भाषा र खानपानसहित नेपालको पहिचान प्रवर्द्धन गर्ने महत्वपूर्ण कार्यक्रमका रूपमा आयोजना हुँदै आएको छ। यसपटकको महोत्सवमा अस्ट्रेलियाका प्रधानमन्त्री स्वयं सहभागी भएर नेपाली समुदायसँग तिहारको खुसी साटेका हुन्।
अल्बानिजको यो सहभागितालाई अस्ट्रेलियामा बढ्दै गएको नेपाली समुदायको सामाजिक तथा सांस्कृतिक प्रभावको महत्वपूर्ण सम्मानका रूपमा पनि हेरिएको छ।
प्रकाशित मिति : November 7, 2026 at 5:22 pm










