१८ कार्तिक २०८३, मंगलबार | Tue Nov 3 2026

विचाैलिया भनेर चर्चा भएपछि नारायण भण्डारी भन्छन : दानबहादुर कार्कीसँग पटकपटक भेटेको छु

१७ कात्तिक, काठमाडौं । नारायण भण्डारीले सामाजिक सञ्जालमार्फत आफूलाई जोडेर प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीसँग सम्बन्धित विषयमा सार्वजनिक भएका अडियो तथा समाचारप्रति आपत्ति जनाउँदै आफ्नो धारणा सार्वजनिक गरेका छन्।

भण्डारीले खगेन्द्र सुनारलाई फसाउन रचिएको खेलको आफूले रेकर्डिङ गरेपछि आफूलाई सिध्याउन खोज्ने समूहले एआईजी केसीलाई समेत विवादमा तान्न खोजेको दाबी गरेका छन्।

उनले नुवाकोटका भनिएका मनोज केसीसँग आफ्नो फोन वा म्यासेज सम्पर्क नरहेको दाबी गर्दै केसीको इमानदार र निडर छविलाई धमिल्याउने उद्देश्यले योजनाबद्ध रूपमा मिडिया प्रहार गरिएको आरोप लगाएका छन्।

फेसबुकमा लेख्दै भण्डारीले सार्वजनिक भएका अडियोको सत्यता, प्रामाणिकता, स्रोत र सन्दर्भबारे निष्पक्ष पुष्टि हुनुपर्ने बताएका छन् । आधिकारिक प्रमाणीकरणबिना सामाजिक सञ्जालमा सार्वजनिक भएका अडियो र त्यससँग जोडिएका दाबीलाई अन्तिम सत्य मानेर आफूलाई बिचौलियाको आरोप लगाउनु उचित नहुने उनको भनाइ छ।

अडियोमा सुनिने आवाज आफ्नो आवाजसँग कति मेल खान्छ भन्ने विषयसमेत प्राविधिक परीक्षणबाट मात्रै स्पष्ट हुने उनले बताएका छन् । रेकर्डिङको स्रोत, अवस्था तथा सम्पादन भए-नभएको विषयको आधिकारिक परीक्षण हुनुपर्ने उनको माग छ।

भण्डारीले प्रहरी प्रमुख दानबहादुर कार्कीसँग भने पटकपटक भेटघाट र संवाद भएको स्वीकार गरेका छन् । तर आफूलाई जोडेर कुनै आर्थिक लेनदेन वा कारोबार भएको दाबी गरिए त्यसको पुष्टि गर्ने आधिकारिक प्रमाण र विवरण सार्वजनिक गर्न उनले चुनौती दिएका छन्।

अनुमान र अपुष्ट सूचनाका आधारमा कसैको प्रतिष्ठामा आँच पुर्‍याउनु उचित नहुने भन्दै उनले सामग्री सार्वजनिक गर्नुअघि त्यसको सत्यता जाँच गर्नसमेत आग्रह गरेका छन्। आफ्नो व्यक्तिगत प्रतिष्ठामा असर पुग्ने गरी अपुष्ट सामग्री प्रचार नगर्न अनुरोध गर्दै भण्डारीले प्रचलित कानुनअनुसार कानुनी अधिकार प्रयोग गर्ने चेतावनीसमेत दिएका छन्।

प्रकाशित मिति : November 3, 2026 at 2:41 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/