१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

कम्पनीको कर तथा जरिबाना मिनाहा म्याद पुस मसान्तसम्म थप

१३ कात्तिक, काठमाडौं । सरकारले कम्पनी दर्ता नवीकरण र विवरण अद्यावधिक नगरेका कम्पनीलाई लाग्ने कर, दस्तुर तथा जरिबाना मिनाहा गर्ने म्याद आगामी पुस मसान्तसम्म थपेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यवसायीहरूको अनुरोध तथा उद्योगी–व्यवसायीले भोगेका समस्या मध्यनजर गर्दै यस्तो छुटको म्याद लम्ब्याएको बताएको छ ।

यसअघि यस्तो छुट सुविधा लिने अन्तिम म्याद २०८३ असोज मसान्तसम्म मात्र थियो । तर, ९ कात्तिकमा भएको निर्णय अनुसार उक्त म्याद बढाएर २०८३ पुस मसान्तसम्म कायम गरिएको छ । मन्त्रालयका अनुसार कम्पनी ऐन २०६३ बमोजिम दर्ता भई कानुन बमोजिम समयमै विवरण पेस नगरेका, नवीकरण नगरेका वा दाखिल गर्नुपर्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना तिर्न बाँकी रहेका कम्पनीलाई लक्षित गरी यो व्यवस्था गरिएको हो ।

यो व्यवस्था अनुसार त्यस्ता कम्पनीले आफ्नो कारोबार नियमित राख्न वा दर्ता खारेज (बन्द) गर्न चाहे आर्थिक वर्ष २०८२/८३ का लागि कानुन बमोजिम लाग्ने नियमित कर, शुल्क, दस्तुर तथा विवरण आउँदो पुस मसान्तभित्र पेस गर्नुपर्ने छ ।तोकिएको अवधिभित्र विवरण पेस गरे त्यसभन्दा अघिका वर्षहरूमा लागेको वा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना पूर्णरूपमा मिनाहा हुनेछ ।

प्रकाशित मिति : October 30, 2026 at 2:08 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/