प्रधानमन्त्री धम्क्याउने उद्देश्यले बोलाइएको प्रहरी बैठक विज्ञप्ति निकालेर सकियो
१२ कात्तिक, काठमाडौँ । बुधबार अपरान्हबाट एउटा समाचार भाइरल बन्यो । त्यो समाचार थियो । नेपाल प्रहरीले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि राजीनामाको दबाब । यो समाचार नेपाल प्रेसले सार्वजनिक गरेको थियो । त्यसपछि अन्य धेरै मिडियाले कपीपेस्ट पत्रकारिता मार्फत त्यसको प्रचार व्यापक बनाए । त्यसपछि सामाजिक सञ्जालमा पनि सोही समाचारको आधारमा टिप्पणी हुन थाल्यो भने कार्की निकटका पत्रकारदेखि वकिलसम्म निराश मुद्दामा सामाजिक सञ्जालमा टिप्पणी गर्न थाले । अझ एमालेका धेरै नेताहरूले कार्कीको सान्त्वनामा टिप्पणी लेखेर सामाजिक सञ्जाल पनि रंग्याए ।

नेपाल प्रेसले जसरी प्रहरी प्रधान कार्यालयको सूचनाको आधारमा समाचार लेखेको थियो । त्यसलाई पुष्टि गर्ने गरी बिहीबार प्रहरी प्रधान कार्यालयमा पोलिसी कोअर्डिनेशन कमिटी (पीसीसी) को बैठक बोलाइयो । सबैले फिल्ड काम छाडेर काठमाडौँमा हाजिर जनाए । कही घण्टा प्रहरीका मुख्य हकिमलाई बैठकका नाममा प्रधान कार्यालयमै थुनेर राखियो ।
बैठक चलिरहेकै समयमा अघिल्लो दिन राजीनामाको दबाब भन्दै सूचना दिने समूहले नै प्रधानमन्त्रीलाइ सामूहिक भेटेर अडान राख्ने खालको सूचनासहितको समाचार बाहिर सार्वजनिक गराएको थियो । जुन समाचार अनलाइनखबरमा नरायाण अधिकारीको बाइलाइनमा प्रकाशित भएको छ ।

अन्तिममा बिहीबार राति अघिल्लो दिन प्रहरी प्रधान कार्यालयको सूचनाको आधारमा नै सार्वजनिक भएको समाचार खण्डन गर्दै उल्टै उल्टै मिडिया माथि धम्की धम्कीपूर्ण शब्द प्रयोग गरेर एउटा विज्ञप्ति सार्वजनिक गर्दै बैठक सकियो ।
प्रहरी महानिरीक्षक कार्कीले नै १२ करोडको डिल गरेर रास्वपा सांसदसँग सम्बन्धित एउटा अडियो सार्वजनिक गर्न लगाएको भनेर एक युवाले भिडियोमा बोलेको विषय नै बाहिर आउँदा पनि चुँसम्म नबोलेको प्रहरी प्रधान कार्यालयले बिहीबार भने विज्ञप्ति निकालेर फेरि समाचार लेख्न सिकायो । अझ टिढ लाग्दो कुरा के छ भने जुन समाचारको आधारमा प्रधानमन्त्रीलाई चेन अफ कमाण्डको कुरा गरेर धम्काउने उद्देश्यले हतारमा जसरी बैठक बोलाइएको थियो उक्त बैठकपछि जारी विज्ञप्तिले त्यही समाचारको खण्डन गर्यो ।
राजीनामाको दबाब बढेको भन्ने समाचार तथा टिप्पणीप्रति आपत्ति
महानिरीक्षक कार्कीमाथि राजीनामाको दबाब बढेको भन्ने समाचार तथा टिप्पणीप्रति आपत्ति जनाउँदै पुष्टि नभएका सूचना प्रकाशन तथा प्रसारण नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ।
प्रहरी प्रधान कार्यालयले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा ‘आईजीपी दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको’ भन्ने आशयका समाचार तथा टिप्पणी प्रकाशित भइरहेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ।
पुष्टि नभएका विषयलाई अनुमानका आधारमा समाचार वा टिप्पणीका रूपमा प्रस्तुत गर्दा नागरिकमा भ्रम सिर्जना हुने, सुरक्षासम्बन्धी जोखिम बढ्ने तथा नागरिकको सेवामा समर्पित संस्थाको विश्वास, संगठनात्मक छवि र निष्ठामा असर पर्न सक्ने प्रहरीको भनाइ छ।
प्रहरीले सत्य, तथ्यपरक र विश्वसनीय सूचना प्राप्त गर्नु नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै समाचार प्रकाशन तथा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न र सूचनाको सत्यता सुनिश्चित गर्न आग्रह गरेको छ।

पत्रकारिताको व्यावसायिक आचारसंहिता पालना गर्दै नागरिकप्रतिको जिम्मेवारी निर्वाह गर्न पनि प्रहरीले सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई अनुरोध गरेको छ। प्रमाणित र आधिकारिक सूचनामा विश्वास गर्न, अपुष्ट सामग्रीको अनावश्यक प्रसार नगर्न तथा जिम्मेवार सूचना सम्प्रेषणमा सहयोग गर्न प्रहरीले आग्रह गरेको हो।
सरकारको नीति निर्देशनअनुसार नागरिकप्रतिको जिम्मेवारी र उत्तरदायित्व निर्वाह गर्न प्रहरी प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ। प्रहरीले आफू कुनै पनि प्रकारका भ्रामक प्रचार, अनावश्यक दबाब वा गैरकानुनी गतिविधिबाट विचलित नभई संवैधानिक तथा कानुनी जिम्मेवारी पूरा गर्न कटिबद्ध रहेको जनाएको छ।
विज्ञप्तिमा प्रहरी संगठनलाई कमजोर बनाउने वा सुरक्षा संगठनलाई विवादमा तान्ने उद्देश्यले भ्रामक सूचना सम्प्रेषण गरिएको पाइएमा प्रचलित कानुनबमोजिम आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने पनि उल्लेख छ।
प्रहरी नायब महानिरीक्षक तथा केन्द्रीय प्रहरी प्रवक्ता अवि नारायण काफ्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा नागरिकलाई प्रमाणित, आधिकारिक र तथ्यमा आधारित समाचारमा विश्वास गर्न तथा अपुष्ट सामग्रीको अनावश्यक प्रसार नगर्न आग्रह गरिएको छ।

प्रकाशित मिति : October 29, 2026 at 11:20 pm










