‘अर्नब’को जोखिमलाई लिएर सरकार उच्च सतर्क, सबै निकायलाई तयारी अवस्थामा रहन निर्देशन
१२ कात्तिक, काठमाडौं । चक्रवाती आँधी ‘अर्नब’को सम्भावित प्रभावलाई ध्यानमा राख्दै सरकारले मातहतका सम्पूर्ण निकायलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
चक्रवातका कारण नेपालका विभिन्न क्षेत्रमा वर्षा, हिमपात तथा हावाहुरीको सम्भावना रहेकाले जोखिम न्यूनीकरण र जनधनको सुरक्षाका लागि आवश्यक तयारी गर्न भनिएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार सार्वजनिक गरेको सूचनाअनुसार सम्भावित विपद्बाट हुन सक्ने क्षति न्यूनीकरण गर्न सरकारी निकायहरूलाई सक्रिय बनाइएको छ। साथै, अत्यावश्यक सेवाको सञ्चालनलाई प्रभावकारी बनाउन र सम्भावित जोखिमको सामना गर्न पूर्वतयारीमा जोड दिइएको छ।
कार्यालयका अनुसार भारतको आन्ध्र प्रदेश र विशाखापट्टनम आसपास प्रभाव पार्ने अनुमान गरिएको चक्रवात नेपाल आइपुग्दासम्म कमजोर हुने आकलन गरिएको छ। यद्यपि, यसको सम्भावित असरबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सुरक्षा निकायहरूले विभिन्न स्थानमा माइकिङमार्फत सर्वसाधारणलाई सचेत गराइरहेका छन्।
यसैबीच, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण सङ्घले पदयात्रा तथा पर्वतारोहणमा जानुअघि आधिकारिक मौसम पूर्वानुमानको अद्यावधिक जानकारी लिएर मात्र यात्रा गर्ने निर्णय लिन पर्यटक तथा पर्वतारोही टोलीलाई आग्रह गरेका छन्।
हवाई सुरक्षालाई प्राथमिकता दिँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि विमानस्थल सञ्चालन, हवाई ट्राफिक व्यवस्थापन, धावनमार्ग निरीक्षण तथा वैकल्पिक उडान योजनालाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। सञ्चार र विद्युत् प्रणाली चुस्त राख्नसमेत भनिएको छ।
त्यस्तै, विभिन्न जिल्ला प्रशासन कार्यालयले आफ्नो क्षेत्रको सम्भावित जोखिम मूल्याङ्कन गरी आवश्यक पूर्वतयारी तथा सुरक्षा सतर्कता अपनाउन सर्वसाधारणलाई आह्वान गरेका छन्।
सरकारले चक्रवातबारे फैलिन सक्ने भ्रामक सूचनाको पछि नलाग्न र आधिकारिक निकायबाट जारी सूचनामा मात्र विश्वास गर्न आग्रह गरेको छ। साथै, मौसमको अवस्था बुझेर आवश्यक सतर्कता अपनाउन र सम्भावित जोखिमबाट सुरक्षित रहन सर्वसाधारणलाई अपिल गरेको छ।
प्रकाशित मिति : October 29, 2026 at 4:45 pm










