१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढी श्रमिकले दिए विभागमा उजुरी

१२ कात्तिक, काठमाडौं । दशैँमा चाडपर्व खर्च नपाएको भन्दै ६ सयभन्दा बढी श्रमिकले उजुरी गरेका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागकाअनुसार दशैँअघि कार्यालय समयभित्रै इमेल र पोर्टलमार्फत ६ सयभन्दा बढी श्रमिकले श्रम ऐनमा भएको व्यवस्था अनुसार चाडपर्व खर्च नपाएको भन्दै उजुरी गरेका हुन् ।

श्रम ऐन, २०७४ मा वर्षमा एकपटक चाडपर्व खर्च उपलब्ध गराउने व्यवस्था छ । श्रमिकले कुनै चाडपर्वका लागि माग गरेको अवस्थामा सोही चाडपर्वमा र माग नगरेको अवस्थामा दशैँमा चाडपर्व खर्च उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।

प्रत्येक श्रमिकले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चका रूपमा पाउनुपर्ने व्यवस्था भए पनि रोजगारदाताले सो पालना नगरेको श्रमिकको गुनासो छ। एक वर्ष सेवा अवधि पूरा नगरेका श्रमिकलाई भने काम गरेको अवधिको अनुपातमा चाडपर्व खर्च दिनुपर्ने नियम छ।

कानूनी प्रावधान कार्यान्वयन गराउन विभागले रोजगारदाता तथा प्रतिष्ठानलाई कडा निर्देशन दिएको विभागका महानिर्देशक चक्रपाणी पाण्डेले बताए। विभागले दसैँ बिदाअघि नै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सलाई पत्राचार गरेको थियो।

असोज २३ गते ती संगठनलाई पत्र पठाउँदै आबद्ध प्रतिष्ठानमार्फत श्रमिकलाई चाडपर्व खर्च उपलब्ध गराउन आग्रह गरिएको थियो। त्यसैगरी असोज २६ गते निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाललाई पत्र पठाएर निजी विद्यालयका शिक्षक तथा कर्मचारीको चाडपर्व खर्च सुनिश्चित गर्न निर्देशन दिइएको थियो।

प्रकाशित मिति : October 29, 2026 at 11:40 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/