व्यापार घाटा ५ खर्ब ३२ अर्ब नाघ्यो, असोजमा २ खर्ब ४५ अर्बको वस्तु आयात
११ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास (साउन–असोज) मा आयात ह्वात्तै बढेको छ। भन्सार विभागका अनुसार असोज मसान्तसम्म १ खर्ब १४ अर्ब २८ करोड रुपैयाँ बराबर वस्तु निर्यात भएको छ । जुन अघिल्लो आव २०८२/८३ को सोही अवधिको तुलनामा ५७.०३ प्रतिशत धेरै हो ।
अघिल्लो आव असोजसम्म ७२ अर्ब ७८ करोड बराबर वस्तु निर्यात भएको थियो । सोही आवमा कुल ३ खर्ब १५ अर्बमाथिको वस्तु निर्यात भएको थियो । असोजमा मात्र कुल २ खर्ब ४५ अर्ब २६ करोड रुपैयाँ बराबर वस्तु आयात भएको छ । जसले गर्दा पहिलो त्रैमासमा कुल आयात ३८.१८ प्रतिशत वृद्धि भई ६ खर्ब ४६ अर्ब ७८ करोड बराबर पुगेको छ । गत आव पहिलो तीन महिनामा ४ खर्ब ६८ अर्ब बराबरको मात्र आयात भएको थियो ।
आयात र निर्यात दुवैमा भएको उच्च वृद्धिले यस वर्ष पहिलो तीन महिनामै कुल वैदेशिक व्यापार आकार ४०.७१ प्रतिशत विस्तार भएको छ । वैदेशिक व्यापार आकार ७ खर्ब ६१ अर्ब ७ करोड रुपैयाँ बराबर पुगेको छ । गत आव असोजसम्म ५ खर्ब ४० अर्ब बराबर मात्र वैदेशिक व्यापारको आकार थियो ।
असोजसम्म व्यापार घाटा भने ५ खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँ बराबर देखिन्छ । जुन अघिल्लो आव सोही अवधिको तुलनामा ३४.७१ प्रतिशत बढी हो । गत आव पहिलो त्रैमासमा व्यापार घाटा ३ खर्ब ९५ अर्ब रुपैयाँ बराबर थियो ।
यस वर्ष कुल वैदेशिक व्यापारमा निर्यात हिस्सा ११.५९ प्रतिशत सुधार भई १५.०२ प्रतिशत पुगेको छ । आयात हिस्सा १.८० प्रतिशत खस्किएर ८४.९८ प्रतिशत कायम भएको तथ्यांकमा देखिन्छ ।
तीन महिनामा नेपालले १ खर्ब १९ अर्ब रुपैयाँ बराबर इन्धन आयात गरेको छ । ६६ अर्ब ६६ करोड बराबर वनस्पति तेलको कच्चापदार्थ आयात भएको भन्सार विभागले जानकारी दिएको छ । आयात हुने प्रमुख वस्तुमध्ये कच्चा भटमास तेल पहिलो स्थानमा रहेको छ। तीन महिनामा सवारीसाधन र त्यसको कच्चापदार्थ आयातमा मात्र ५३ अर्ब १९ करोड विदेशिएको छ ।
प्रकाशित मिति : October 28, 2026 at 4:11 pm










