चक्रवातको प्रभावले वर्षा र बाढीको जोखिम, सतर्क रहन प्राधिकरणको आग्रह
११ कात्तिक, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कात्तिक १३ र १४ गते देशका विभिन्न क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाले कात्तिक ९ गते जारी गरेको विशेष मौसमी बुलेटिन अनुसार समुद्री क्षेत्रमा विकसित भइरहेको शक्तिशाली चक्रवातको प्रभावले नेपालमा वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ । यसबाट बाढी, पहिरो, चट्याङ, हुरीबतास र डुबानको जोखिमसमेत रहेको प्राधिकरणले जनाएको छ ।
प्रतिकूल मौसमका कारण विद्युतका पोल, तार, ट्रान्सफर्मरलगायत संरचनामा क्षति पुग्न सक्ने र विद्युत् सेवा अवरुद्ध हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन प्राधिकरणले अनुरोध गरेको छ ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै विद्युत् संरचनाको सुरक्षा तथा सेवा अवरुद्ध भएमा तत्काल मर्मतसम्भार गरी आपूर्ति नियमित गर्न सम्बन्धित कार्यालयका कर्मचारीलाई तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ ।
प्रकाशित मिति : October 28, 2026 at 1:27 pm










