१० कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026

कारको ढोकामा फल्स बटम, १४ किलो चाँदीजस्तो धातुसहित चार जना पक्राउ

९ कात्तिक, काठमाडौं । मकवानपुरको हेटौँडामा कारको ढोकाभित्र फल्स बटम बनाएर लुकाइ ल्याइएको १४ किलो १८० ग्राम चाँदीजस्तो देखिने धातुसहित एकै परिवारका चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको रक्सोल निवासी करिब ५० वर्षीय कारचालक रमेशकुमार साह सोनार, उनकी ४२ वर्षीया श्रीमती चन्दादेवी सोनार, १७ वर्षीय छोरा र करिब २० वर्षीया भान्जी नन्दनीकुमारी साह रहेका छन्।

भारतको रक्सोलबाट काठमाडौँतर्फ आउँदै गरेको बा २ च ७०७९ नम्बरको कारलाई प्रहरीले हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिक रोकेर जाँच गर्ने क्रममा उक्त धातु फेला पारेको हो।

प्रहरीका अनुसार कात्तिक ८ गते दिउँसो करिब ३ बजेर १५ मिनेटमा प्रहरी चौकी रातोमाटेबाट प्रहरी नायब निरीक्षक प्रमोदकुमार साहको कमान्डमा खटिएको टोलीले कार जाँच गरेको थियो। त्यसक्रममा कारका चारवटै ढोकाको भित्री भागमा फल्स बटम बनाएर चाँदीजस्तो देखिने धातु लुकाइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

बरामद धातुको शुद्ध तौल १४ किलो १८० ग्राम रहेको छ। प्रहरीले धातुसहित कारमा सवार चार जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखेको छ। प्रहरीले बरामद धातु वास्तविक चाँदी हो वा अन्य कुनै धातु भन्ने यकिन गर्न तथा घटनासँग सम्बन्धित अन्य विवरण खुलाउन थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : October 26, 2026 at 11:21 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/