नेपाल टेलिकमको अटम अफर: ६९९ रुपैयाँमै अनलिमिटेड कल र ३० जीबी डेटा
२७ असोज, काठमाडौं । नेपाल टेलिकमले ग्राहकका लागि विभिन्न भ्वाइस, डेटा तथा कम्बो प्याक समेटिएको ‘अटम अफर २०८३’ सार्वजनिक गरेको छ। कम्पनीले विभिन्न अवधिका भ्वाइस तथा डेटा प्याकलाई थप आकर्षक बनाउँदै असोज २६ गतेदेखि नयाँ अफर लागू गरेको जनाएको छ।
नयाँ अफरअन्तर्गत ग्राहकले ३५ रुपैयाँदेखि २९९ रुपैयाँसम्मका ‘अल नेट भ्वाइस प्याक’ खरिद गर्न सक्नेछन्। ३५ रुपैयाँमा एक दिनका लागि १०१ मिनेट, ४९ रुपैयाँमा तीन दिनका लागि १११ मिनेट, ९८ रुपैयाँमा सात दिनका लागि २२२ मिनेट तथा १९८ रुपैयाँमा ३० दिनका लागि ३३३ मिनेट कुरा गर्न सकिनेछ। त्यस्तै, २९९ रुपैयाँको प्याक खरिद गर्दा ३० दिनसम्म ६६६ मिनेटसम्म भ्वाइस सेवा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।
कम्पनीले ‘सजिलो अनलिमिटेड’ प्याकअन्तर्गत ६९९ रुपैयाँमा ३० दिनसम्म अनलिमिटेड अल नेट भ्वाइस, ३० जीबी डेटा र २०० वटा अल नेट एसएमएस उपलब्ध गराएको छ। यसैगरी, १ हजार ४९९ रुपैयाँको ३० दिने प्याकमा अनलिमिटेड अल नेट भ्वाइस, ६०० जीबी डेटा र ३५० वटा अल नेट एसएमएस प्रयोग गर्न सकिनेछ।

पोस्टपेड प्रयोगकर्ताका लागि पनि कम्पनीले विभिन्न सुविधा समेटिएका प्याकेज उपलब्ध गराएको छ। ग्राहकले ३७३ रुपैयाँको रेन्टल चार्जमा विभिन्न प्रकारका भ्वाइस तथा डेटा प्याकसँगै अन्य कम्बो प्याक प्रयोग गर्न सक्नेछन्।
नेपाल टेलिकमले भ्वाइस तथा डेटा प्याकका अतिरिक्त बन्डल्ड प्याक, एड-अन प्याकेज, सीयूजी प्याकेज, एसएमएस प्याक र एफटीटीएच प्याकसमेत उपलब्ध गराएको जनाएको छ। फरक क्षमता भएका व्यक्तिका लागि पनि छुट्टै प्याकेजको व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ।
ग्राहकले मोबाइलबाट *1415# डायल गरेर वा नेपाल टेलिकमको मोबाइल एपमार्फत उपलब्ध प्याकेजबारे जानकारी लिन र सेवा खरिद गर्न सक्नेछन्। त्यस्तै, कम्पनीको आधिकारिक वेबसाइटमार्फत पनि अफरसम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न तथा सेवा खरिद गर्न सकिनेछ।
प्रकाशित मिति : October 13, 2026 at 2:27 pm







