अर्थ मन्त्रालयद्वारा ‘नागरिक बजेट’ सार्वजनिक
२६ असोज, काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको बजेटलाई सर्वसाधारणले सहजै बुझ्न सक्ने गरी ‘नागरिक बजेट’ सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले ‘हाम्रो कर, हाम्रै बजेट, हाम्रै भविष्य’ भन्ने नारासहित आफ्नो वेबसाइटमार्फत यो संक्षिप्त र सरल पुस्तिका ल्याएको हो।
यो कुनै नयाँ बजेट नभई जेठ १५ मा प्रस्तुत चालु आवकै बजेटलाई सर्वसाधारणका लागि सरल रूपमा तयार पारिएको दस्ताबेज हो । राज्यको खर्च र विनियोजन प्रक्रियालाई पारदर्शी तथा जवाफदेही बनाउने उद्देश्यले यो पुस्तिका ल्याइएको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताएका छन् । नागरिकले सहजै बुझ्ने भाषामा बजेटका प्राथमिकता, करका प्रावधान र विकासका लक्ष्य यसमा समेटिएको उनको भनाइ छ ।

‘नागरिक बजेट’ मा बजेट निर्माणका छ वटा चरण, तिनको जिम्मेवारी र समयसीमा प्रस्ट पारिएको छ । यसमा सुशासन, नीतिगत सुधार र सेवा प्रवाहसहित बजेटका मुख्य विशेषता, आर्थिक लक्ष्य, सार्वजनिक ऋण र आम्दानीका स्रोतहरू समेटिएका छन् । त्यस्तै, व्यक्तिगत आयकरको छुट सीमा बढाइएको, कच्चा पदार्थको भन्सार घटाइएको र ६० प्रकारका वस्तुमा लाग्ने अन्तःशुल्क हटाइएको विषयलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ ।
तीन तहका सरकारबिचको राजस्व बाँडफाँट र मन्त्रालयगत खर्चको विवरण पनि दिइएको छ । साथै, ‘कसले के पाउँछन्’ शीर्षक अन्तर्गत किसान, विद्यार्थी, महिला, ज्येष्ठ नागरिक, श्रमिक र उद्यमीका लागि गरिएका व्यवस्थाहरू बुँदागत रूपमा राखिएका छन् ।
प्रकाशित मिति : October 12, 2026 at 12:02 pm





