८७ नम्बरको ब्रोकरले सुरू गर्यो मार्जिन कारोबार सुविधा
२३ असोज, काठमाडौं । एस्.पी.एस्.ए. सेक्युरिटिज लिमिटेड (ब्रोकर नं. ८७) ले लगानीकर्ताका लागि मार्जिन कारोबार सुविधा सञ्चालनमा ल्याएको छ । नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जको निर्देशिकाअनुसार सुरू गरिएको यस सुविधामार्फत लगानीकर्ताले तोकिएको प्रारम्भिक मार्जिन जम्मा गरी थप पुँजीको पहुँच प्राप्त गर्न सक्नेछन् । यसबाट नेप्सेमा सूचीकृत ए, बी र जी वर्गका तोकिएका योग्य कम्पनीका सेयर कारोबार गर्न सकिनेछ ।
कम्पनीका अनुसार मार्जिन कारोबार सुविधाको ब्याजदर वार्षिक ७.५ प्रतिशतबाट सुरु हुनेछ भने स्वीकृत मार्जिन कर्जा सीमाको ०.२० प्रतिशत सेवा शुल्क लाग्नेछ । यसका लागि न्यूनतम ३० प्रतिशत प्रारम्भिक मार्जिन कायम गर्नुपर्नेछ भने सम्भार मार्जिन न्यूनतम २० प्रतिशत हुनुपर्नेछ ।

सम्भार मार्जिन २० प्रतिशतभन्दा कम भएमा कम्पनीले लगानीकर्तालाई मार्जिन कल गर्नेछ । त्यस्तै, मार्जिन खातामा मार्जिन १५ प्रतिशत वा सोभन्दा कम भएमा सम्भार मार्जिन कायम गर्न आवश्यक सेयर बिक्री गर्न सक्ने कम्पनीले जनाएको छ ।
मार्जिन कारोबार सुविधा लिन लगानीकर्ताले कम्पनीमा मार्जिन कारोबार खाता र मार्जिन हितग्राही खाता खोल्नुपर्नेछ । त्यसपछि नगद वा योग्य सेयरका रूपमा न्यूनतम ३० प्रतिशत प्रारम्भिक मार्जिन जम्मा गरी बाँकी ७० प्रतिशतसम्मको मार्जिन सुविधा प्रयोग गरेर सेयर खरिद गर्न सकिनेछ । थप जानकारी तथा मार्जिन कारोबार खाता खोल्नका लागि एस्.पी.एस्.ए. सेक्युरिटिज लिमिटेडको नयाँ बानेश्वरस्थित ए.डी.एस. कम्प्लेक्सको छैटौँ तल्लामा रहेको कार्यालयमा सम्पर्क गर्न सकिनेछ ।
प्रकाशित मिति : October 9, 2026 at 3:52 pm






