पोखरामा स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन
२३ असोज, पोखरा । पोखरा महानगरपालिका–२८, माझठानाबाट विद्यार्थी बोकेर आउँदै गरेको कालिका बोर्डिङ स्कुलको बस दुर्घटनाबारे छानबिन गर्न पोखरा महानगरपालिकाले समिति गठन गरेको छ।नगरप्रमुख धनराज आचार्यका अनुसार दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन, कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुधारका उपाय सुझाउन समिति गठन गरिएको हो।
महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा गठित समितिमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई सदस्य छन्।

समितिले दुर्घटनाको कारण र घटनासँग सम्बन्धित विषयहरूको विस्तृत अध्ययन तथा छानबिन गरी सत्य तथ्यसहित ५ दिन भित्र प्रतिवेदन पेस गर्ने छ । समितिले विद्यालयका सवारीसाधनको सुरक्षा, विद्यार्थीको सुरक्षित आवागमन र आगामी दिनमा अपनाउनुपर्ने सावधानीबारे आवश्यक सुझावसमेत दिनेछ।
प्रकाशित मिति : October 9, 2026 at 1:12 pm






