सांग्रिला डेभलपमेन्ट बैंकको वार्षिक साधारण सभा सम्पन्न, १०.५२ प्रतिशत लाभांश पारित
२३ असोज, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २२औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकले आफ्ना सेयरधनीहरूका लागि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दै सभा सम्पन्न गरेको हो ।
साधारण सभाले बैंकले हाल कायम रहेको चुक्ता पूँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५ सय ५ रुपैयाँ ५३ पैसाको ६.५२६३ प्रतिशतले हुन आउने २४ करोड ३६ लाख ९७ हजार १ सय २ रुपैयाँ ४७ पैसा नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, ४ प्रतिशतका दरले हुन आउने १४ करोड ९३ लाख ६२ हजार ७४० रुपैयाँ २२ पैसा बराबरको बोनस सेयर पनि वितरण गरिनेछ ।

यस लाभांश पश्चात बैंकको चुक्ता पूँजी बढेर ३ अर्ब ८८ करोड ३४ लाख ३१ हजार २४५ रुपैयाँ ७५ पैसा पुग्नेछ । साधारण सभाले आगामी ४ वर्षका लागि ६ सदस्यीय नयाँ सञ्चालक समिति पनि निर्विरोध चयन गरेको छ । संस्थापक सेयरधनीका तर्फबाट उज्ज्वल सत्याल, सुशीलकाजी बानियाँ र श्याम कुमार शर्मा चयन भएका छन् भने सर्वसाधारण सेयरधनीका तर्फबाट विष्णु प्रसाद ढकाल, कृष्ण प्रसाद रेग्मी र भावना अग्रवाल निर्वाचित भएका छन् ।
साधारण सभा लगत्तै बसेको सञ्चालक समितिको बैठकले उज्ज्वल सत्याललाई सर्वसम्मत रूपमा बैंकको सञ्चालक समितिको अध्यक्षमा चयन गरेको छ । सभाले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण, लेखा परीक्षकको नियुक्ति, प्रबन्धपत्र संशोधन तथा मर्जर र प्राप्तिका सम्बन्धमा सञ्चालक समितिको प्रस्तावलाई समेत स्वीकृत गरेको छ ।
बैंकका बरिष्ठ नायब महाप्रवन्धक अपूर्व प्रसाद जोशीका अनुसार, आम नागरिकको प्रगाढ विश्वास र भरोसाकै कारण बैंकले हाल देशभर १०९ वटा शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गरिरहेको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीलाई उच्च प्राथमिकता दिँदै आएको बैंकले आगामी दिनमा आफ्ना सेवाहरू अझ परिष्कृत र विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ ।
प्रकाशित मिति : October 9, 2026 at 10:18 am






