दशैंमा जुनसुकै कम्पनीको खाली सिलिन्डर साटेर ग्यास लिन पाइने
२२ असोज, काठमाडौं । चाडपर्वका बेला एलपी ग्यास पाउन सहज होस् भन्ने उद्देश्यले काठमाडौं उपत्यकामा जुनसुकै ब्रान्डका खाली सिलिन्डर साट्न मिल्ने व्यवस्था गर्न लागिएको छ । नेपाल आयल निगमले दशैं, तिहार र छठजस्ता ठूला चाडपर्वमा खाना पकाउने ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न काठमाडौँ उपत्यकामा फरक–फरक कम्पनीका सिलिन्डरबीच आपसी साटासाटको व्यवस्था लागु गर्ने तयारी गरेको हाे ।
यो व्यवस्था कार्यान्वयनमा आएपछि उपभोक्ताले आफूले प्रयोग गर्दै आएको कम्पनीकै सिलिन्डर खोजिरहनुपर्ने बाध्यता हट्नेछ। यसअघि बजारमा ग्यास उपलब्ध भए पनि फरक कम्पनीको सिलिन्डर भएका कारण उपभोक्ताले अनावश्यक सास्ती व्यहोर्नुपर्ने अवस्था थियो । कतिपय स्थानमा डिलरहरूले सिलिन्डर साटिदिएबापत अतिरिक्त शुल्कसमेत असुल्ने गरेका गुनासाहरू बाहिर आएका थिए । नयाँ व्यवस्थामा भने ब्रान्ड फरक परेकै कारण उपभोक्ताले थप रकम तिर्नुपर्ने छैन ।

ग्यास उद्योगीहरूले काठमाडौं उपत्यकाका विभिन्न १५ देखि २० प्रमुख स्थानमा संयुक्त बिक्री काउन्टर सञ्चालन गरी सेवा उपलब्ध गराउने तयारी गरेका छन् । त्यस्ता काउन्टरबाट जुनसुकै ब्रान्डको खाली सिलिन्डर बुझाएर तत्काल ग्यास लिन सकिने व्यवस्था मिलाइनेछ ।
दशैंमा काठमाडौँ उपत्यकाबाट ठूलो सङ्ख्यामा मानिस बाहिरिने भएकाले सामान्य अवस्थामा ग्यासको माग घट्ने भए पनि उपत्यकामै बस्ने परिवारका लागि सिलिन्डरको ब्रान्ड नमिल्ने समस्या कायमै रहन्छ। त्यसैले सीमित अवधिका लागि ल्याउन लागिएको यो व्यवस्था कार्यान्वयनमा आएमा चाडपर्वका बेला ग्यास खोज्दै पसल–पसल धाउनुपर्ने उपभोक्ताको बाध्यता केही हदसम्म अन्त्य हुने अपेक्षा गरिएको छ।
प्रकाशित मिति : October 8, 2026 at 1:52 pm






