नुवाकोटको सूर्यगढी गाउँपालिकामा विवादः लेखा अधिकृतले प्रमुख प्रशासकीय अधिकृतलाई काटिन् पत्र
२१ असोज, काठमाडौं । नुवाकोटको सूर्यगढी गाउँपालिकामा बजेट कार्यान्वयन र भुक्तानीको विषयलाई लिएर विवाद चर्किएको छ । बजेट उपलब्ध नगराइएको भन्दै गाउँपालिकाकी लेखा अधिकृत सम्पदा न्यौपानेले प्रमुख प्रशासकीय अधिकृत राहुल कुमार उपाध्यायलाई लिखित पत्र नै पठाएकी छन् ।
चालु आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रणालीमा प्रविष्ट गर्न विवरण नपाएको भन्दै लेखा अधिकृत न्यौपानेले प्रमुख उपाध्यायलाई लिखित पत्र काटेकी हुन् । गत असोज १३ गते लेखा अधिकृत न्यौपानेले प्रमुख प्रशासकीय अधिकृतलाई काटेको पत्रमा असार ५ गते गाउँसभामा बजेट प्रस्तुत भए पनि हालसम्म शीर्षकगत बजेट लेखा शाखालाई उपलब्ध नगराइएको उल्लेख छ।

पत्रमा बजेट उपलब्ध गराउन पटक-पटक मौखिक रूपमा अनुरोध गर्दासमेत त्यसको कार्यान्वयनका लागि आवश्यक बजेट उपलब्ध नभएको उल्लेख छ । बजेट उपलब्ध नहुँदा गाउँपालिकाको विकास निर्माणका काम प्रभावित हुनुका साथै कार्यालयका प्रशासनिक काममा समेत असहजता उत्पन्न भएको लेखा अधिकृत न्यौपानेले पत्रमा उल्लेख गरेकी छन् ।
त्यति मात्र होइन, बजेट अभावका कारण सामाजिक सुरक्षा भत्ता, कर्मचारीको तलब तथा कार्यालयका विभिन्न कार्यसँग सम्बन्धित खर्चको भुक्तानीसमेत हुन नसकेको पत्रमा उल्लेख छ । न्यौपानेले आर्थिक प्रशासन शाखालाई बजेट उपलब्ध गराउन २०८३ असोज १५ गतेभित्रै आवश्यक व्यवस्था गर्न प्रमुख प्रशासकीय अधिकृतसँग अनुरोध गरेकी छन् ।
बजेट उपलब्ध गराएपछि मात्र खाता सञ्चालन गरी खर्च तथा भुक्तानी प्रक्रिया अघि बढाइने र त्यसपछि पनि पेश भएका खर्चको भुक्तानी गर्न नसकिएमा त्यसको जिम्मेवारी आर्थिक प्रशासन शाखाले नलिने चेतावनी लेखा अधिकृतले दिएकी छन् ।

प्रकाशित मिति : October 7, 2026 at 5:48 pm






