२१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026

सञ्चारमन्त्री र स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारबीच भेट, एआई ग्लोबल समिटमा नेपाललाई निमन्त्रणा

२१ साउन, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल लोइसले शिष्टाचार भेटवार्ता गरेका छन्।

भेटका क्रममा नेपाल र स्विट्जरल्यान्डबीच सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा सहकार्य र सहयोगका विषयमा छलफल भएको छ । सञ्चारमन्त्री डा तिमिल्सिनाले विभिन्न क्षेत्रमा स्विट्जरल्यान्ड सरकारसँगको सहकार्य तथा प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा थप सहकार्य र सहयोग विस्तार गर्न नेपाल इच्छुक रहेको बताए।

भेटमा डिजिटल सुरक्षा, सार्वभौमिकता, डिजिटल अखण्डता तथा सूचना प्रविधिको विकासबाट नेपालले प्राप्त गर्न सक्ने लाभका विषयमा पनि छलफल भएको थियो । नेपालले डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै यस क्षेत्रमा पर्याप्त लगानी भित्र्याउन वातावरण सहज बन्दै गएको बताए।

वरिष्ठ नीति सल्लाहकार लोइसले सन् २०२७ जुन २१ र २२ मा स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने ‘एआई ग्लोबल समिट २०२७’ मा नेपालको सहभागिताका लागि निमन्त्रणा दिए। सम्मेलनमा नेपालको तथा सम्बन्धित सरोकारवालाको प्राथमिकताबारे जानकारी लिएका थिए। सो भेटमा ‘फ्रिडम अनलाइन कोलिसन’ मा नेपालको सम्भावित सहभागिता तथा पर्यवेक्षकका रूपमा नेपालको भूमिकाका विषयमा पनि छलफल भएको थियो ।

हाल ४२ सदस्य राष्ट्र रहेको उक्त गठबन्धनले इन्टरनेट स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, गोपनीयता तथा अनलाइन अधिकारको प्रवर्द्धनमा सहकार्य गर्दै आएको छ ।

प्रकाशित मिति : October 7, 2026 at 3:51 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/