२३ गतेदेखि दशैंका लागि अग्रिम टिकट खुल्ने, लामो दूरीका बसमा दुई चालक अनिवार्य
२० असोज, काठमाडौं । नजिकिंदै गरेको दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ २३ असोजदेखि खुला हुने भएको छ। यातायात व्यवस्था विभागमा मंगलबार सरोकारवाला निकायहरू बीच भएको उच्चस्तरीय बैठकले उक्त निर्णय गरेको हो।
अग्रिम टिकटको विषयमा यातायात व्यवस्था विभागमा मंगलबार भएको छलफलले टुङ्गो लगाएपछि यात्रुको अन्योल हट्ने भएको छ। विभागले यातायात व्यवसायी, मजदुर सङ्गठन, प्रहरी, ट्राफिक प्रहरी तथा नयाँ बसपार्क व्यवस्थापन पक्षसँग छलफल गरी बुकिङको मिति निर्धारण गरेको हो।

यस वर्षको दशैं अवधिमा १० लाखभन्दा बढी यात्रुले काठमाडौं उपत्यका छाड्ने आकलन गरिएको छ। अग्रिम टिकट बुकिङ नखुल्दा र केही कम्पनीले मात्र अनलाइन बुकिङ लिइरहँदा सर्वसाधारण यात्रुमा छाएको अन्योल यस निर्णयसँगै हटेको छ।
बैठकले यात्रुको सुरक्षा, सुविधा र यातायात व्यवस्थापनलाई मर्यादित बनाउन विभिन्न महत्त्वपूर्ण निर्णयहरू पनि गरेको छ। निर्णयअनुसार, अब लामो दूरीका सवारीसाधनमा अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्नेछ। टिकट काउन्टरमा बस्ने कर्मचारीले अनिवार्य रूपमा परिचयपत्र र युनिफर्म लगाउनुपर्नेछ भने, टिकट काट्दा यात्रुको नाम र सम्पर्क नम्बर अनिवार्य रूपमा अभिलेख राख्नुपर्नेछ।
प्रकाशित मिति : October 6, 2026 at 1:53 pm






