२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

सेटिङमा हुन्छ लुम्बिनी विकास बैंकको लिलामी : डेढ करोड मूल्यको घरजग्गा ५३ लाखमा झ्वाम

२० असोज, काठमाडौं। लुम्बिनी विकास बैंकले ४८ लाख रुपैयाँ ऋण असुलीका लागि बैंक आफैँले ८१ लाख ९१ हजार रुपैयाँ मूल्यांकन गरेको घरजग्गा ५३ लाख रुपैयाँमा लिलाम गरेपछि बैंकको लिलामी प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ। बैंकले सेटिङमा लिलामी गर्ने गरेको विषय यसअघि पनि सार्वजनिक भएका थिए ।

बुटवल उपमहानगरपालिका–९, मिलनचोकस्थित दुर्गापथको उक्त घरजग्गा धितो राखेर २०७७ सालमा दुर्गाबहादुर पौडेल र उनकी श्रीमती लक्ष्मी विष्ट पौडेलले लुम्बिनी विकास बैंकको देवीनगर शाखाबाट ‘डिएल डिजाइनर’ नामको छापाखाना व्यवसाय सञ्चालन तथा विस्तारका लागि ४८ लाख रुपैयाँ कर्जा लिएका थिए।

तर, कर्जा लिएलगत्तै फैलिएको कोरोना महामारीले उनीहरूको व्यवसाय संकटमा पर्यो। छापाखानाको कारोबार घट्दै गएपछि बैंकको नियमित साँवा–ब्याज र किस्ता तिर्न समस्या हुन थाल्यो। महामारीकै बीचमा पौडेल दम्पतीले करिब १६ लाख रुपैयाँ बैंकलाई ब्याज तथा किस्ताबापत बुझाएको बताएका छन्।

व्यवसायमा सुधार नआएपछि ऋण चुक्ता गर्न अन्ततः उनीहरूले धितो राखिएको घरजग्गा नै बिक्री गर्ने निर्णय गरे। बैंकसँग समेत घरजग्गा बिक्री गरेर ऋण चुक्ता गर्ने विषयमा समन्वय भएको उनीहरूको दाबी छ। त्यसका लागि तत्कालीन शाखा प्रमुख चन्द्रबहादुर सारूसँग समन्वय गरेर घर बिक्रीको प्रक्रिया अघि बढाइएको र खरिदकर्तासँग बैना गर्ने अवस्थासमेत बनेको लक्ष्मीको भनाइ छ। तर, घरजग्गा बिक्री गरेर बैंकको ऋण चुक्ता गर्ने तयारी भइरहेकै अवस्थामा बैंकले आफूहरूलाई जानकारी नै नदिई धितो सम्पत्ति लिलाम गरेको लक्ष्मीले आरोप लगाएकी छन्।

८१ लाख ९१ हजारको मूल्यांकन, ५३ लाखमा लिलामी

बैंकले कर्जा प्रवाह गर्दा उक्त घरजग्गाको मूल्यांकन ८१ लाख ९१ हजार रुपैयाँ कायम गरेको थियो। तर, साँवा, ब्याज तथा अन्य रकम जोडिँदा बैंकले असुल गर्नुपर्ने रकम करिब ५८ लाख ३९ हजार रुपैयाँ पुगेको भन्दै सोही सम्पत्ति ५३ लाख रुपैयाँमा लिलाम गरिएको पौडेल परिवारको  आरोप छ ।  यसमा सबैभन्दा ठूलो प्रश्न बैंकको आफ्नै मूल्यांकन र लिलामी मूल्यबीचको अन्तरलाई लिएर उठेको छ।

बैंकले ८१ लाख ९१ हजार रुपैयाँ मूल्यांकन गरेको सम्पत्ति करिब २९ लाख रुपैयाँ कम अर्थात् ५३ लाख रुपैयाँमा लिलाम गरिएपछि लिलामी प्रक्रियाको पारदर्शितामाथि प्रश्न उठेको हो। पौडेल परिवारका अनुसार उक्त घरजग्गाको अहिलेको चलनचल्तीको मूल्य करिब डेढ करोड रुपैयाँ हाराहारीमा पर्छ। उनीहरूले बैंकको ऋण चुक्ता गर्नकै लागि करिब १ करोड २५ लाख रुपैयाँमा घरजग्गा बिक्री गर्ने सहमतिसमेत गरिसकेको दाबी गरेका छन्।

‘घरजग्गा बिक्री गरेर बैंकको ऋण चुक्ता गर्ने तयारीमा थियौँ। खरिदकर्ता पनि तयार भइसकेका थिए। तर हामीलाई जानकारी नै नदिई बैंकले सम्पत्ति लिलाम गरिदियो,’ लक्ष्मीले भनिन्। उनका अनुसार बैंकलाई तिर्नुपर्ने रकम जुटाउने उद्देश्यले आफूहरूले घर बिक्री गर्न खोजेका थियाैँ। तर, बैंकले त्यसका लागि पर्याप्त समय नदिएको र आफूसँग भएको समझदारीलाई बेवास्ता गर्दै लिलामी प्रक्रिया अघि बढाएको उनको आरोप छ।

लिलामी प्रक्रियाबाट उक्त घरजग्गा सुर्खेत ठेगाना भएका गोविन्द लामिछानेले ५३ लाख रुपैयाँमा सकार गरेको बताइएको छ। पौडेल परिवारले बैंकका कर्मचारी र लिलामी सकार्ने व्यक्तिबीचको सम्भावित सम्बन्ध तथा लिलामी प्रक्रियाको निष्पक्षतामाथि प्रश्न उठाएको छ। लक्ष्मीले बैंकका तत्कालीन शाखा प्रमुखसँग घर बिक्री गरेर ऋण चुक्ता गर्ने विषयमा समन्वय भइरहेको अवस्थामा आफूहरूलाई जानकारी नै नदिई लिलामी गरिनु स्वाभाविक नभएको बताएकी छन्। उनले बैंकका कर्मचारी र लिलामी सकार्ने व्यक्तिबीच मिलेमतो भएको हुनसक्ने आशंकासमेत व्यक्त गरेकी छन्।

मिलनचोक क्षेत्रका स्थानीयवासीले समेत लिलाम भएको घरजग्गाको मूल्यलाई लिएर प्रश्न उठाएका छन्। स्थानीयका अनुसार उक्त क्षेत्रमा ३ धुर जग्गा मात्रै पनि ५३ लाख रुपैयाँमा पाउन कठिन हुन्छ। उनीहरूको दाबीअनुसार घरसहितको उक्त सम्पत्तिको बजार मूल्य कम्तीमा डेढ करोड रुपैयाँ हाराहारीमा पर्न सक्छ। यसले बैंकले गरेको मूल्यांकन, वास्तविक बजार मूल्य र अन्ततः भएको लिलामी मूल्यबीचको अन्तरलाई थप प्रश्नको घेरामा ल्याएको छ।

 पौडेल परिवारको मुख्य प्रश्न बैंकले आफैँ गरेको मूल्यांकनमै केन्द्रित छ। यदि बैंकले कर्जा प्रवाहका बेला उक्त सम्पत्तिको मूल्य ८१ लाख ९१ हजार रुपैयाँ कायम गरेको थियो भने त्यसको तुलनामा निकै कम ५३ लाख रुपैयाँमा लिलामी किन गरियो ? पौडेल परिवारले आफूहरू ऋण नतिर्ने नियतमा नभएको, बरु घरजग्गा बिक्री गरेर बैंकको रकम चुक्ता गर्न तयार रहेको अवस्थामा समेत सम्पत्ति लिलाम गरिनु अन्याय भएको दाबी गरेको छ।

साेही विरोधमा पौडेल परिवारले सोमबार लुम्बिनी विकास बैंकको शाखा कार्यालयअगाडि धर्ना दिएका थिए । यदि परिवारको दाबीअनुसार बैंकको बक्यौता रकम लिलामी मूल्यभन्दा बढी थियो भने ऋण असुलीका लागि गरिएको भनिएको लिलामीबाट बैंकले आफ्नो सम्पूर्ण रकमसमेत असुल गर्न नसकेको देखिन्छ । यही तथ्यले लिलामी मूल्य निर्धारणको आधार र प्रक्रियामाथि थप प्रश्न उठाएको परिवारको भनाइ छ ।

बैंकका बुटवल शाखा प्रमुख सारूले भने ऋणीलाई पटक-पटक जानकारी गराउँदा पनि सम्पर्कमा नआएपछि प्रचलित नियमअनुसार लिलामी प्रक्रिया अघि बढाइएको दाबी गरेका छन् । उनका अनुसार ऋणीलाई लिखित, मौखिक, फोन तथा मेसेजमार्फत पटक-पटक जानकारी गराइएको थियो । ‘लिखित, मौखिक, फोनबाट, मेसेजबाट धेरैपटक सूचना गरेको हो । तर उहाँहरू सम्पर्कमा नआएपछि नियमअनुसार लिलाम बिक्री गरिएको हो,’ सारूले भने ।

उनले लिलामी प्रक्रिया सम्बन्धित नियामक तथा कानुनी व्यवस्थाअनुसार नै भएको दाबी गरे । तर, परिवारले भने आफूहरू बैंकसँग सम्पर्क र समन्वयमै रहेको तथा ऋण चुक्ता गर्ने प्रयास गरिरहेको अवस्थामा लिलामी गरिएको दाबी गरेको छ ।

प्रकाशित मिति : October 6, 2026 at 10:31 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/