सडक बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
१९ असोज, काठमाडौं । सडक बोर्ड नेपालले खाली रहेको कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धाका आधारमा नियुक्ति गर्न दरखास्त आह्वान गरेको छ । सडक बोर्ड ऐन, २०५८ को दफा २१ बमोजिम न्यूनतम योग्यता र अनुभव पुगेका इच्छुक व्यक्तिहरूलाई सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र रीतपूर्वक दरखास्त पेश गर्न सार्वजनिक सूचनामार्फत आह्वान गरिएको हो ।
कार्यकारी निर्देशकका लागि सिभिल इन्जिनियरिङ वा व्यवस्थापनमा स्नातकोत्तर तथा इन्जिनियरिङ वा सडक व्यवस्थापनसम्बन्धी क्षेत्रमा कम्तीमा पाँच वर्षको कार्य अनुभव आवश्यक छ। उम्मेदवारले व्यक्तिगत विवरण, शैक्षिक प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाण, कार्य अनुभवका प्रमाणित कागजात र नेपाल इन्जिनियरिङ परिषद्को प्रमाणपत्र बुझाउनुपर्नेछ। सरकारी कर्मचारीले सम्बन्धित निकायको पूर्वस्वीकृति पनि पेस गर्नुपर्नेछ।

दरखास्तका साथ वैयक्तिक विवरण, शैक्षिक योग्यता, नागरिकता, कार्य अनुभवका प्रमाणित प्रतिलिपिहरू संलग्न गर्नुपर्नेछ । यसका साथै सडक बोर्डको उद्देश्य बमोजिम कार्यकारी निर्देशकका रूपमा पुर्याउन सक्ने योगदान, कार्यान्वयन रणनीति र कार्य योजनासहितको कार्यपत्र छुट्टै सिलबन्दी खाममा बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।
सरकारी निकायमा कार्यरत कर्मचारीको हकमा सम्बन्धित अख्तियारवालाको पूर्व स्वीकृति र इन्जिनियरको हकमा नेपाल इन्जिनियरिङ परिषद्को प्रमाणपत्र आवश्यक पर्नेछ । गैरनेपाली नागरिक, ३५ वर्ष पूरा नभएका वा ६० वर्ष उमेर नाघेका, प्रचलित कानून बमोजिम कालो सूचीमा परेका व्यक्तिहरू यस पदका लागि अयोग्य मानिनेछन् । कार्यकारी निर्देशकको पदावधि चार वर्षको हुनेछ। सेवा सुविधा, मूल्याङ्कन र नियुक्तिसम्बन्धी अन्य व्यवस्था सडक बोर्ड ऐन तथा नियमावलीबमोजिम हुने बोर्डले जनाएको छ।

प्रकाशित मिति : October 5, 2026 at 9:45 am






