पत्रकार निराजन पौडेललाई कमल बहादुर विष्ट स्मृति पुरस्कार
१८ असोज, काठमाडौं । यस वर्षको कमल बहादुर विष्ट स्मृति पुरस्कार पत्रकार निराजन पौडेललाई प्रदान गरिने भएको छ। कमल बहादुर विष्ट स्मृति समाजले साहित्य, कला, पत्रकारिता तथा समाज रूपान्तरणका क्षेत्रमा पौडेलले पुर्याएको योगदानको कदर गर्दै उनलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको अध्यक्ष डा गायत्री विष्टले जानकारी दिइन ।
पुरस्कार छनोटका लागि डा. विनोद मञ्जनको संयोजकत्वमा माधवप्रसाद तिवारी र राजु विष्ट सदस्य रहेको सिफारिस समिति गठन गरिएको थियो । समितिको सिफारिसका आधारमा पौडेललाई २०८३ सालको पुरस्कार प्रदान गर्ने निर्णय गरिएको समाजले जनाएको छ। पौडेल बाढी पीडित पत्रकार समेत हुन । भदौ १० को भोटेकोशीको बाढीले पौडेलको नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ७ सोले बजारमा रहेको सम्पूर्ण भौतिक सम्पत्तिको साथै बुबा, आमा, काका, काकी र बहिनीसहित परिवारका पाँच सदस्य वेपत्ता बनाएको छ ।
पौडेल १७ वर्षदेखि पत्रकारितामा सक्रिय छन्। पछिल्लो एक दशकभन्दा बढी समयदेखि विभिन्न सञ्चारमाध्यममा काम गर्दै आएका उनी हाल रातोपाटी डट कमका वरिष्ठ संवाददाताका रूपमा कार्यरत छन्। उनले विशेषगरी अदालत, संवैधानिक आयोग तथा कानुनी मामिला सम्बन्धी रिपोर्टिङ गर्दै आएका छन्।

न्यायिक प्रक्रिया, संवैधानिक निकाय र कानुनी विषयको रिपोर्टिङमा सक्रिय पौडेल संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका महासचिवसमेत हुन्। वातावरण तथा जलवायु परिवर्तनका विषयमा समेत उनको पत्रकारिता केन्द्रित छ।
न्याय प्रणाली र संवैधानिक शासनका विषयमा तथ्यपरक सूचना प्रवाह तथा कानुनी पारदर्शिताका लागि योगदान पुर्याउँदै आएका पौडेललाई प्रदान गरिने पुरस्कारको राशि १० हजार रुपैयाँ रहेको छ।
कमल बहादुर विष्ट स्मृति पुरस्कार साहित्य, कला, पत्रकारिता तथा समाज रूपान्तरणका क्षेत्रमा सक्रिय युवा व्यक्तित्वलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिँदै आएको छ।
वि.सं. १९९९ सालमा सलम्बुटार–६, शङ्खरापुरमा जन्मिएका कमल बहादुर विष्टले ४२ वर्ष निजामती सेवामा बिताएका थिए। साहित्यप्रति गहिरो रुचि राख्ने विष्टको ‘लाउने काठ’ कविता सङ्ग्रह प्रकाशित छ भने उनका फुटकर रचनाहरू विभिन्न साहित्यिक पत्रपत्रिकामा प्रकाशित भएका छन्।
विष्टको इच्छाअनुसार उहाँको कमाइबाट अक्षयकोष स्थापना गरी २०७८ सालदेखि उहाँको पुण्यतिथिको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने युवा व्यक्तित्वलाई पुरस्कार प्रदान गरिँदै आएको छ।
प्रकाशित मिति : October 4, 2026 at 2:07 pm






