१७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026

नवलपुरमा यात्रुवाहक बस दुर्घटना : ६ जनाको मृत्यु, १२ जना घाइते

१७ असोज, नवलपुर । नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको यात्रुवाहक बस शनिबार बिहान करिब ४ बजे चालकले नियन्त्रण गुमाउँदा पूर्व–पश्चिम राजमार्गबाट नालामा खसेर दुर्घटना भएको हो।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार दुर्घटनामा जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीलाई बिहान ५ः२६ बजे मृत घोषणा गरिएको थियो।

त्यसपछि बाँके कोहलपुर नगरपालिका–३ का ३२ वर्षीय दिपेन्द्र केसीलाई ६ः३२ बजे, बाजुरा स्वामीकार्तिक गाउँपालिकाका ६५ वर्षीय नरेन्द्रराज गिरीलाई ६ः५४ बजे, बाँके कोहलपुर–१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मीलाई ७ः१९ बजे र बाँके नेपालगञ्ज उपमहानगरपालिका–७ का २२ वर्षीय कृष कनौजियालाई ७ः३८ बजे मृत घोषणा गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै, घटनास्थलमै करिब ४०/४२ वर्ष उमेरका एक पुरुषको पनि मृत्यु भएको छ। उनको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको र घटनास्थलमा मुचुल्का कार्य भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको छ। बाँके नेपालगञ्ज उपमहानगरपालिका–१६ का ४८ वर्षीय अस्लाम भगवानको टाउकोमा चोट लागेको छ। उनलाई थप उपचारका लागि बिहान ७ः४० बजे नयाँ मेडिकल कलेज भरतपुर पठाइएको छ।

बाजुरा स्वामीकार्तिक गाउँपालिका–५ का ३२ वर्षीय पवन बुढालाई पनि थप उपचारका लागि बिहान ६ बजे चितवन मेडिकल कलेज भरतपुर पठाइएको छ।

अन्य घाइतेमा गोरखा गोरखा नगरपालिका–९ का ३० वर्षीय हरिशरण थापा, अछाम मंगलसेन नगरपालिका–६ का २८ वर्षीय तेजेन्द्रप्रसाद भण्डारी, बर्दिया ठाकुरबाबा नगरपालिका–१ की २० वर्षीया आकृति थारु, बर्दिया राजापुर नगरपालिका–९ का २८ वर्षीय सञ्जय थारु, बाजुरा स्वामीकार्तिक गाउँपालिका–१ का २५ वर्षीय प्रेम बम, ललितपुरका २९ वर्षीय अनोज खत्री, बर्दिया बाँसगढी नगरपालिका–७ का ३६ वर्षीय लालबहादुर कार्की र सल्यान वनगाड कुपिण्डे नगरपालिका–१ का २१ वर्षीय अनिल बुढाथोकी छन्।

घाइतेमध्ये अधिकांशको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। केहीको अवस्था सामान्य छ।

दुर्घटनापछि बसमा च्यापिएका यात्रुको उद्धारका लागि दुईवटा क्रेन परिचालन गरिएको थियो। बिहान ६ः१५ बजे च्यापिएका चार पुरुषलाई क्रेनको सहायताले निकालेर मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका यात्रुलाई तत्काल उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको थियो। गम्भीर घाइतेलाई थप उपचारका लागि भरतपुर पठाइएको हो।

सशस्त्र प्रहरीका अनुसार बसमा सवार यात्रुमध्ये दुई जना भने सकुशल रहेका छन्। दुर्घटनाको विस्तृत कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : October 3, 2026 at 9:24 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/