१६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026

कागेश्वरी मनोहरा नगरपालिकाका घुस खाने तीनविरूद्ध भ्रष्टाचार मुद्दा

१६ असोज, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकामा घर निर्माणसम्बन्धी काम सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियरसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले नगरपालिकाको भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर दिपा कार्की, घुस लेनदेनमा मध्यस्थको भूमिका निर्वाह गरेको आरोप लागेकी आस्मा कार्की र आशिष पौडेलविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार स्ट्रक्चरल एनालाइसिस स्वीकृत गरिदिने विषयमा बार्गेनिङ गर्दै सेवाग्राहीलाई पटक–पटक दुःख हैरानी दिएको र घुस मागेको सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानका क्रममा अख्तियारको टोलीले इन्जिनियर दिपा कार्की र आस्मा कार्कीलाई सेवाग्राहीबाट ६४ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

आयोगको अनुसन्धानबाट इन्जिनियर दिपा कार्कीले आफ्नो पद तथा अधिकारको दुरुपयोग गरी अन्य प्रतिवादीसँगको मिलेमतोमा घर निर्माणसम्बन्धी विभिन्न काममा सहजीकरण गरिदिने भन्दै आफू समेतका लागि २ लाख ८ हजार रुपैयाँ घुस लिएको/लिन लगाएको पुष्टि भएको दाबी गरिएको छ।

स्ट्रक्चरल एनालाइसिस स्वीकृत तथा सिफारिस, नक्सा पास, घर निर्माण सिफारिस, अस्थायी इजाजत र घर निर्माण सम्पन्नलगायत नगरपालिकाबाट हुने विभिन्न प्रक्रियामा सहजीकरण गर्ने नाममा उक्त रकम लिइएको आयोगको आरोप छ।

आयोगले दिपा कार्कीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको भन्दै २ लाख ८ हजार रुपैयाँ बिगो कायम गरी कैद तथा बिगो बराबर जरिवानाको सजाय मागदाबी गरेको छ।

त्यस्तै, आस्मा कार्कीलाई मुख्य कसुरदारलाई सहयोग गर्ने मतियारका रूपमा अभियोजन गरिएको छ। उनीविरुद्ध पनि २ लाख ८ हजार रुपैयाँ बिगो कायम गरी मुख्य कसुरदारसरह सजायको मागदाबी गरिएको आयोगले जनाएको छ।

आशिष पौडेलविरुद्ध भने १ लाख ४४ हजार रुपैयाँ बिगो कायम गरिएको छ। आयोगका अनुसार उनी पनि घुस लिने–दिने कार्यमा मतियारका रूपमा संलग्न रहेको अनुसन्धानबाट खुलेको छ। उनीविरुद्ध मुख्य कसुरदारसरह सजायको मागदाबी गरिएको छ।

आयोगले तीनै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ तथा दफा २२ बमोजिमको कसुरमा कारबाहीको माग गर्दै आरोपपत्र दायर गरेको हो।

प्रकाशित मिति : October 2, 2026 at 5:32 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/