१५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026

महिला कर्मचारीले अब महिनावारी बिदा पाउने

१५ असोज, काठमाडौं । सरकारी सेवामा कार्यरत महिला कर्मचारीले अब महिनावारीका बेला छुट्टै बिदा पाउने भएका छन्। सरकारले संसद्मा दर्ता गरेको संघीय निजामती सेवासम्बन्धी विधेयकमा पहिलोपटक ‘महिनावारी/रजस्वला बिदा’को व्यवस्था प्रस्ताव गरिएको हो।

संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको दफा १२५ मा निजामती कर्मचारीले पाउने विभिन्न प्रकारका बिदाको सूचीमा महिनावारी तथा रजस्वला बिदासमेत समावेश गरिएको छ। हाल प्रचलित निजामती सेवा ऐनमा यस्तो व्यवस्था छैन।

हाल निजामती कर्मचारीहरूले विभिन्न शीर्षकमा बिदा पाउने भए पनि महिनावारी हुँदा बिदा पाउने व्यवस्था छैन। प्रस्तावित व्यवस्था संसद्बाट पारित भएर ऐनका रूपमा कार्यान्वयनमा आए सरकारी सेवामा कार्यरत महिला कर्मचारीका लागि महिनावारी बिदाले कानुनी मान्यता पाउनेछ।

कर्मचारीहरूले अहिले भैपरी ६ दिन र पर्व बिदा ६ दिन गरी वर्षमा १२ दिन बिदा पाउने गरेका छन्। त्यसबाहेक घर बिदा वर्षमा एक महिना पाउँछन्। बिरामी बिदा वर्षमा १२ दिन पाउँछन्। मातृत्व तथा प्रसूति बिदा महिलाले ९८ दिन पाउँछन्। तर महिलाले चाहेमा थप ६ महिनासम्म बेतलबी प्रसूति बिदा लिन सक्छन्। पुरुषले प्रसूति स्याहार बिदा १५ दिन पाउने गरेका छन्। त्यसबाहेक मृत्यु संस्कार बिदा (किरिया बिदा) १५ दिन पाउँछन्। कर्मचारीहरूले अध्ययन बिदा पनि पाउँछन्। तर यस्तो बिदा अध्ययन अवधिभरका लागि लागू हुनेछ। त्यसबाहेक असाधारण बिदाको व्यवस्था पनि छ। कर्मचारीले सेवा अवधिमा नबढ्ने गरी तीन वर्ष यस्तो बिदा पाउँछन्। तर यस्तो बिदामा तलब पाउँदैनन्।

प्रकाशित मिति : October 1, 2026 at 3:55 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/