१५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026

निजामती विधेयकबारे मन्त्री रावलः संघीय शासन प्रणाली कार्यान्वयनका लागि कोसेढुंगा

१५ असोज, काठमाडौं । सरकारले संसद् पुगेको संघीय निजामती सेवा विधेयकले संघीय शासन प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने दाबी गरेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले विधेयकबारे यस्तो बताएकी हुन् ।

बिहीबार मात्रै संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसद् पुगेको हो । विधेयक संसद् पुगेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले प्रस्तुत विधेयकलाई गहन अध्ययन तथा व्यापक छलफल पश्चात् अन्तिम रूप दिइएको बताएकी छन् ।

उनका अनुसार, यसले निजामती सेवालाई थप सक्षम, प्रभावकारी, दक्ष, उत्तरदायी र परिणाममुखी बनाउँदै कार्यसम्पादन र जवाफदेहितामा व्यापक रुपान्तरण ल्याउने अपेक्षा गरिएको छ । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘संघीय शासन प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न महत्त्वपूर्ण आधार प्रदान गर्नुका साथै सुशासन र सार्वजनिक प्रशासन सुधारको दिशामा पनि यो महत्त्वपूर्ण कोसेढुङ्गा बन्ने विश्वास लिएका छौं ।’

उनले आफूले भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा स्पष्ट रुपमा यसलाई प्राथमिकतामा राखेको पनि बताएकी छन् । लामो समयदेखि पारित हुन नसकेको संघीय निजामती सेवा विधेयकलाई टुंगोमा पुर्‍याउने तथा सार्वजनिक प्रशासन सुधार र सुशासनका लागि बलियो आधार निर्माण गर्ने साथै, भूमि प्रशासनलगायतका क्षेत्रमा व्यापक डिजिटलाइजेशन र अटोमेशन मार्फत सेवा प्रवाहलाई सरल, छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्य पनि अघि सारेको स्मरण गरेकी छन् ।

प्रकाशित मिति : October 1, 2026 at 2:55 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/