आरेन राईको प्रश्नः भ्रष्टाचारीका फाइल खोल्न के कुराले रोक्यो ?
१५ असोज, काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले जेनजीको माग सम्बोधन गर्न सरकार गम्भीर नभएको आरोप लगाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै आन्दोलनमा सहभागी हुनेहरू ‘जलाऊ जलाऊ ठोक’ भन्नेहरू सांसद मन्त्री हुँदा पनि माग सम्बोधन गर्नमा चासो नदिएको टिप्पणी गरे।
उनले भने, ‘जेनजी को सपना पूरा गर्छु भनेर सरकार तपाईँहरू आउनुभएको हो। त्यही आन्दोलनमा सहभागी हुनेहरूलाई जलाऊ जलाऊ ठोक भन्नेहरू सांसद मन्त्री हुने, अनि त्यही जेनजी आन्दोलनमा सहभागी हुनेहरू जेल बस्नु पर्ने के हो यो? के समस्या हो यो?’

जेनजी आन्दोलन परिवर्तनका लागि हो या कुनै आपराधिक घटना हो? भन्दै सरकारसँग जवाफ मागे। उनले अब पनि नेपालको राजनीतिमा झूट बोले जनताले नपत्याउने बताए। उनले जेनजी आन्दोलनबारे मानव अधिकार आयोगको प्रतिवेदनबारे सरकारको धारणा मागे।
भ्रष्टाचारका पुराना फाइल खोल्ने सरकारको दाबीमाथि प्रश्न उठाउँदै उनले दुईतिहाइ नजिक रहेको शक्ति प्रयोग गरी भ्रष्टाचारीलाई कारबाही गर्न चुनौती दिएका छन्। भ्रष्टाचारीलाई कारबाही गर्ने जुनसुकै प्रक्रियामा आफ्नो पार्टीले सरकारलाई पूर्ण सहयोग गर्ने उनले स्पष्ट पारे।
भ्रष्टाचार सम्बन्धी मुद्दामा पनि पक्राउ गर्दै छाड्ने क्रम बढेको भन्दै आपत्ति जनाए। उनले भने, ‘आज पक्रिन्छ, भोलि छोड्दिन्छ। के गरेको यो ? कस्तो किसिमको सुशासन हो यो ? राष्ट्रिय स्वतन्त्र पार्टीको ठूलो छाती छ भन्नुहुन्थ्यो। के ठूलो छाती नभएको मान्छेले आज सरकार चलाइराखेको हो ? नत्र के कुराले रोकेको छ ? पपुलारिटीका लागि मात्र बोल्ने हो कि?’ उनले भने ‘राजदरबार हत्याकाण्डको फाइल खोल्छु भन्नुभयो, कहाँ पुग्यो त्यो? गिरिबन्धु टि–स्टेट के भो? वाइडबडी काण्ड के भो ?
प्रकाशित मिति : October 1, 2026 at 2:25 pm






