१५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026

रिज लाइन इनर्जीले १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने

१५ असोज, काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले शेयरधनीलाई १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश पारित गर्न कम्पनीले आगामी कात्तिक १७ गते पाँचौँ वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनी सञ्चालक समितिको निर्णयअनुसार साधारण सभा ललितपुर महानगरपालिका–१, कुपण्डोलस्थित कुपण्डोल ब्याङ्क्वेटमा बस्नेछ । सभामा सञ्चालक समितिको प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत वित्तीय विवरण छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ । सहायक कम्पनी स्थापना गर्नेसम्बन्धी सञ्चालक समितिको निर्णय अनुमोदन गर्ने तथा सर्वसाधारण सेयरधनीको तर्फबाट एक जना सञ्चालक निर्वाचित गर्ने प्रस्तावसमेत सभाको कार्यसूचीमा समावेश गरिएको छ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार करसहित १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ । कम्पनीका अनुसार प्रस्तावित लाभांशका लागि १२ करोड ४७ लाख ३६ हजार ८४२ रुपैयाँ ११ पैसा रकम छुट्याइएको छ ।

प्रकाशित मिति : October 1, 2026 at 10:36 am