१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

भोटेकोशीको बाढीमा वेपत्ता ऋचा लोकसेवाको परीक्षामा सफल

९ असोज, काठमाडाैँ ।  २९ दिनदेखि एउटै प्रतीक्षा छ ‘छोरी फर्केर आओस्।’ विराटनगर महानगरपालिका–३ की २४ वर्षीया ऋचा निरौलाको परिवारका लागि भदौ १० गतेदेखि समय रोकिएजस्तै भएको छ। अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत ऋचा भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बेपत्ता छिन्। त्यसयता परिवारले उनको कुनै खबर पाएको छैन।

तर, बिहीबार परिवारको मोबाइलमा अर्को खबर आयो । यस्तो खबर, जुन सामान्य अवस्थामा घरभरि खुसी छाउने कारण बन्न सक्थ्यो। लोकसेवा आयोगले सार्वजनिक गरेको सब–इन्जिनियर पदको लिखित परीक्षाको नतिजामा ऋचा उत्तीर्ण भएकी छन्। उनको नाम १२औँ क्रमसंख्यामा छ।

तर, त्यो नाम पढ्दा परिवारमा खुसीको सट्टा पीडा बल्झियो। जसको सफलताको खबरमा घरमा उत्सव हुनुपर्ने थियो, त्यही छोरी कहाँ छिन् भन्ने परिवारलाई थाहा छैन।

‘ऋचा पास भइछिन्’ भन्ने खबर सुन्ने बित्तिकै बुबा लीलाप्रसाद निरौलाका आँखा अगाडि छोरीको अनुहार आयो। लोकसेवाको पहिलो प्रयासमै छोरीले सफलता हासिल गरेको खबर उनलाई सुनाउन मन थियो। तर, छोरीको मोबाइलमा फोन गर्ने अवस्था छैन। छोरीले फोन उठाउने अवस्था छैन।

छोरीको सफलताको खबर सुनाउन खोज्दा बुबाको हातमा अहिले पनि त्यही मोबाइल छ, जसमा एक महिनादेखि ऋचाको फोन आएको छैन।

ऋचाले गत असार ६ गते पहिलोपटक लोकसेवा आयोगको परीक्षा दिएकी थिइन्। त्यसको करिब दुई महिनापछि आएको नतिजाले उनको मेहनत सफल भएको पुष्टि गरेको छ। तर, नतिजा आएको दिनसम्म पनि परिवारलाई उनको अवस्थाबारे कुनै जानकारी छैन।

करिब ६ महिनाअघि मात्रै ऋचा अपर त्रिशूली–१ आयोजनामा काम गर्न रसुवा पुगेकी थिइन्। इन्जिनियरिङ पढेकी उनी भविष्यमा सरकारी सेवामा प्रवेश गर्ने लक्ष्यसहित लोकसेवाको तयारी गरिरहेकी थिइन्।

पहिलो प्रयासमै लिखित परीक्षा उत्तीर्ण गरेर उनले आफ्नो सपना पूरा गर्ने बाटो पनि खोलेकी थिइन्।

तर, भदौ १० गतेको बाढीले उनको त्यो यात्रालाई बीचमै रोकिदियो।

ऋचा कहाँ छिन् भन्ने खोजी अझै जारी छ। उनको मोबाइलको अन्तिम लोकेसन रसुवाको उत्तरगया गाउँपालिका–१ स्थित तिरु आधारभूत विद्यालय आसपाससम्म देखिएको थियो। त्यसपछि मोबाइल स्विच अफ छ।

त्यसयता परिवारका लागि हरेक दिन उस्तै छ—कहिले छोरीको खबर आउला भन्ने प्रतीक्षा।

तीन सन्तानमध्ये कान्छी ऋचा परिवारकी लाडली छोरी हुन्। बुबा लीलाप्रसादका लागि छोरीको लोकसेवामा नाम निस्कनु गर्वको क्षण हो। तर, त्यही गर्वसँगै छोरीको अनुहार देख्न नपाएको पीडा मिसिएको छ।

लोकसेवाको नतिजामा ऋचाको नाम सुरक्षित छ। उनको मेहनतको प्रमाण आयोगको सूचीमा छ। उनको सपना पनि कागजमा जीवितै छ।

तर, ऋचाको परिवारलाई अहिले नतिजाभन्दा ठूलो एउटा खबर चाहिएको छ—‘ऋचा भेटिइन्।’  त्यही एउटा खबरको प्रतीक्षामा परिवारको दिन बितिरहेको छ।

प्रकाशित मिति : September 25, 2026 at 11:16 pm