काठमाडौंमा फोहोर नउठ्ने, घरबाहिर ननिकाल्न महानगरको आग्रह
९ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले अविरल वर्षाका कारण फोहोरमैला व्यवस्थापनमा गम्भीर समस्या उत्पन्न भएको जनाउँदै नगरवासीलाई फोहोर घरबाहिर ननिकाल्न आग्रह गरेको छ।महानगरको वातावरण व्यवस्थापन विभागले शुक्रबार सूचना जारी गर्दै फोहोर सङ्कलन तथा ढुवानी कार्य केही समयका लागि प्रभावित हुने जानकारी गराएको हो। पछिल्लो समय निरन्तर परिरहेको वर्षाका कारण विभिन्न स्थानमा बाढी र पहिरोको समस्या देखिएको छ। यसको प्रत्यक्ष असर काठमाडौंको फोहोर विसर्जन गरिने ल्यान्डफिल साइटमा पनि परेको महानगरले जनाएको छ।

महानगरले सूचनामार्फत भनेको छ, ‘आफ्नो घर, पसल, व्यवसाय वा कम्पाउन्डबाट निस्कने कुनै पनि प्रकारको फोहोर सडक, चोक, सार्वजनिक स्थल, खुला स्थान वा खोलानालामा नफाल्न कडा आग्रह गरिएको छ। फोहोर सङ्कलन नियमित नहुन्जेलसम्म सम्भव भएसम्म सम्पूर्ण फोहोर आफ्नै घर वा परिसरभित्र सुरक्षित रूपमा भण्डारण गरेर राख्न सुझाइएको छ।’
सडक तथा सार्वजनिक स्थानमा जथाभावी फोहोर फ्याँक्दा सडक अवरुद्ध हुनुका साथै वर्षातका समयमा पानी निकास हुने ढल तथा नाला बन्द भई बाढी र डुबानको जोखिम अझ बढ्ने भएकाले विशेष सावधानी अपनाउन महानगरले अनुरोध गरेको छ।
प्रकाशित मिति : September 25, 2026 at 11:59 am




