फेसबुकको पासवर्ड ब्वाईफ्रेन्डलाई नदिन नेपाल प्रहरीकाे अपिल
१७ फागुन, काठमाडौं । साईबर अपराध न्युनिकरणका लागी किशोरीहरुलाई फेसबुकको पासवर्ड ब्वाईफ्रेन्डलाई नदिनु भन्ने सुझाव डिआईजी शैलेश थापा क्षेत्रीले दिएका छन् । शुक्रबार महानगरीय प्रहरी प्रभाग कोटेश्वर र सामुदायिक प्रहरी सेवा केन्द्र कोटेश्वर–३२ ले आयोजना गरेको प्रशिक्षणात्मक कार्यक्रममा बोल्दैकाठमाडौं उपत्यकाको शान्ति सुरक्षाको कमाण्ड गर्ने जिम्मा पाएका महानगरीय प्रहरी प्रमुख (डिआईजी) थापा क्षेत्रीले किशोरीहरुले सामाजिक सञ्जालको पासवर्ड आफ्ना बाबुआमासँग सेयर गर्नुपर्ने बताएका छन् ।
किशोर अवस्थाका नानीहरुले परिवारलाई पासवर्ड शेयर गरेमा साईबर अपराधका घट्ना न्युनिकरण गर्न धेरै सहज हुने बताएकाछन् ।पछिल्लो समय साईबर अपराध बढ्दै गएको चर्चा गर्दै डिआईजी क्षेत्रीले अपराधीको इच्छा, क्षमता र अवसरको ट्रयाङ्गल पुरा गर्न नदिएर प्रहरीले अपराध रोक्ने गरेको बताए । तपाईहरु डेटिङ जाँदा सार्वजनिक स्थानमा जानुस्, त्यसो गर्नुभयो भने तपाईमाथि बलात्कार हुने सम्भावना कम हुन्छ ।’किशोरीहरुले केटा साथीलाई आफ्नो फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जालको पासवर्ड दिँदा समस्या हुने गरेको उनले बताए ।
कोटेश्वर क्षेत्रका विभिन्न स्कुल तथा कलेजहरुमा पढ्ने विद्यार्थी, शिक्षक र अभिभावकहरुलाई प्रशिक्षणात्मक सम्वोधन गर्दै डिआईजी क्षेत्रीले नागाजुर्नको एकान्त जंगलमा डेटिङ लान खोज्ने युवा प्रवृत्तिका कारण अपराधका घट्ना बढेको बताए । ‘एकान्त ठाउँमा धेरै अपराध हुने गरेको छ’ उनले भने, ‘कसैले फलो गरेमा मान्छेको भीडतर्फ जानुस्, अनि कसैको सहयोग माग्नुस् ।’
कार्यक्रममा नेपाल प्रहरीका प्रवक्ता (एसएसपी) उत्तमराज सुवेदीले प्रहरी सक्रियताकै कारण संगठित गुण्डागर्दी र तराईको हतियारधारी समुह आज हराएको बताए । ‘पेशेवर अपराधीबाट हुने अपराध घटेपनि बलात्कारका घट्ना अपेक्षित रुपमा नघट्नुको पछाडीको कारण समाजका सदस्यहरु नै हुन्’ एसएसपी सुवेदीले भने, ‘किनकि, आफन्त नातागोता र चिनजानको मान्छेबाटै बलात्कार हुने गरेको छ ।’
प्रकाशित मिति : 20:28









