७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्सबीच सम्झौता, सवारी खरिदमा ८० प्रतिशतसम्म कर्जा

७ असोज, काठमाडौं । हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स लिमिटेडबीच सवारी साधन खरिदमा ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने सम्बन्धमा समझदारी भएको छ। नेपालमा वातावरणमैत्री, आधुनिक तथा दिगो यातायात सेवालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित हिमालय अर्गनाइजेसनअन्तर्गत आयाम इन्टरकन्टिनेन्टल प्रा.लि., हिमालय मोटोरेक्स प्रा.लि. तथा सम्बद्ध कम्पनी र गोर्खाज फाइनान्सबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।

सम्झौतासँगै हिमालय अर्गनाइजेसनले बिक्री–वितरण गर्ने कमर्सियल तथा विद्युतीय सवारी साधन खरिद गर्ने ग्राहकले अब ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्नेछन्। समझदारीपत्रमा हिमालय अर्गनाइजेसनका प्रमुख कार्यकारी अधिकृत कपिल सिवाकोटी र गोर्खाज फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र इवाहाङले हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार ग्राहक तथा यातायात व्यवसायीले प्रतिस्पर्धी ब्याजदरमा सात वर्षसम्मको भुक्तानी अवधिसहित सवारी कर्जा प्राप्त गर्न सक्नेछन्। आवश्यक सबै कागजात पेस भएको अवस्थामा ३ देखि ५ कार्यदिनभित्र कर्जा स्वीकृत गर्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।

यो कर्जा सुविधा गोर्खाज फाइनान्सका देशभर रहेका शाखा सञ्जालमार्फत तत्काल लागू हुने जनाइएको छ। नेपालको भौगोलिक बनावट र व्यावसायिक यातायातको मागलाई लक्षित गर्दै हिमालय अर्गनाइजेसनले विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका सवारी साधन आयात तथा बिक्री–वितरण गर्दै आएको छ। कम्पनीले विशेषगरी कमर्सियल तथा विद्युतीय सवारी साधनको बजार विस्तारमा काम गर्दै आएको जनाएको छ।

प्रकाशित मिति : September 23, 2026 at 3:43 pm