शोभा पाठकको रिट कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासमा
६ असोज, काठमाडौँ । बलात्कार र भ्रुण हत्याको मुद्दाको अनुसन्धान गराउन प्रहरीमा पटक पटक जोहरी दिए पनि त्यो जाहेरी नै दर्ता नभएपछि तीन वर्षभन्दा बढी समयदेखि न्यायको माग गरिरहेकी धादिङको शोभा पाठकले सर्वोच्चमा दायर गरेको रिट सुनुवाइका लागि न्यायाधीहरू कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासमा परेको छ ।
मंगलबारका लागि उक्त इजलाशमा मुद्दाको चाप भने निकै देखिएको छ । पाठकको रिट २४ नम्बरमा रहेकाले सुनुवाइको सम्भावना न्यून छ । उनले जिल्ला सरकारी वकिलको कार्यलय र प्रहरीसहितकोविरूद्धमा रिट दायर गरेकी थिइन । यसअघि नै यस रिटमा कारण देखाउ आदेश जारी भैसकेको थियो ।

सर्वोच्चले जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला प्रहरी परिसर दुबैबाट जाहेरी दर्ता नगर्नुको कारण मागेको थियो । सो अनुसार दुबै कार्यालयले एक महिना अघि नै जवाफ समेत पठाइसकेका छन ।
सर्वोच्चमा हुने सुनुवाइपछिको आदेशले शोभा पाठकले न्याय माग्दै गरिरहेको यात्राको अन्तमि टुंगो लगाउने छ । सर्वोच्चले कारण मागेर प्राप्त समेत भैसकेका कारण मुद्दामा अनुसन्धान गर भनेर आदेश पनि दिन सक्ने छ भने जिल्ला सरकारी वकिलको कार्यालयको निर्णय सदर पनि गरिदिन सक्नेछ । यसका लागि भने आदेश कुर्नुको विकल्प छैन ।
यसअघि उच्च अदालतले मुद्दाको अनुसन्धान नै विचाराधिन रहेको भन्दै थप कुनै आदेश जारी गर्नु नपर्ने भन्दै टुंग्याइदिएको थियो । शोभा भने एमाले सचिव महेश बस्नेतबाट पीडित भएको भन्दै सडकसम्म पुगेर न्याय मागिरहेकी छिन ।
प्रकाशित मिति : September 22, 2026 at 10:02 am




