३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

ढुंगे–त्रिशूली जोड्न ७० मिटरको बेलीब्रिज निर्माण हुने

३ असोज, नुवाकोट । विदुर नगरपालिका–१ ढुंगे र त्रिशूली बजार जोड्न बेलीब्रिज निर्माण हुने भएको छ। बाढीका कारण प्रभावित ढुंगे–त्रिशूली आवागमनलाई सहज बनाउन विदुर नगरपालिकाले बेलीब्रिज निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाएको हो।

नगरपालिकाका अनुसार करिब ७० मिटर लामो मोटरेबल बेलीब्रिज निर्माणका लागि आवश्यक प्राविधिक अध्ययन तथा डिजाइन यसअघि नै परामर्शदातामार्फत तयार भइसकेको छ। नगरपालिकाले पुलका लागि आवश्यक बेलीब्रिज उपलब्ध गराइदिन सडक विभागलाई गरेको पत्राचारमा विभागबाट सकारात्मक जवाफ प्राप्त भएको छ।

त्यस्तै, बेलीब्रिज जडानका लागि नेपाली सेनालाई गरिएको आग्रहसमेत स्वीकार भएको नगरपालिकाले जनाएको छ। पुल जडानका क्रममा लाग्ने सम्पूर्ण खर्च भने विदुर नगरपालिकाले व्यहोर्ने भएको छ।

बेलीब्रिज निर्माणस्थलको थप प्राविधिक अवस्थाबारे जानकारी लिन नगरप्रमुख राजनलाल श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, नेपाली सेनाका जर्नेल सुवासजंग थापालगायतको टोलीले स्थलगत निरीक्षण गरेको छ।

निरीक्षण टोलीमा सडक डिभिजन नुवाकोटका प्रमुख बद्री शर्मा, विभिन्न वडाका अध्यक्ष तथा प्राविधिक टोलीसमेत सहभागी थिए। टोलीले ढुंगे र त्रिशूली बजार जोड्ने प्रस्तावित पुल निर्माणस्थलको स्थलगत अवस्था तथा आवश्यक प्राविधिक पक्षबारे जानकारी लिएको हो।

नगरप्रमुख श्रेष्ठले बेलीब्रिज निर्माणका लागि सडक विभागबाट सकारात्मक जवाफ र नेपाली सेनाबाट जडानका लागि सहमति प्राप्त भइसकेकाले अब कामलाई तीव्रता दिने बताएका छन्।

बाढीपछि ढुंगे–त्रिशूली बजारबीचको आवागमन प्रभावित हुँदै आएको अवस्थामा बेलीब्रिज निर्माण भएपछि यस क्षेत्रका स्थानीयवासी तथा व्यवसायीलाई आवतजावतमा सहजता पुग्ने अपेक्षा गरिएको छ। नगरपालिकाले आवश्यक समन्वय र प्रक्रिया पूरा गरी जतिसक्दो छिटो पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको जनाएको छ।

प्रकाशित मिति : September 19, 2026 at 7:51 pm