न्यायाधीशका लागि भनेर घुस संकलन गर्ने नुवाकोटका दुई जना अदालतबाटै पक्राउ
३ असोज, काठमाडौँ । काठमाडौं जिल्ला अदालत परिसरबाटै मुद्दाका प्रतिवादीसँग पैसा लेनदेन गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । अदालतका अनुसार लागुऔषध (खैरो हेरोइन) मुद्दाका प्रतिवादी विमल घलेलाई धरौटीमा छुटाइदिने प्रलोभन तथा आश्वासन दिई उनकी पत्नीबाट अवैध रूपमा ६ लाख ७९ हजार रुपैयाँ लिएको आरोपमा दुई जनालाई अदालत परिसरबाटै पक्राउ गरिएको हो।
असोज २ गते बयानका लागि इजलाससमक्ष पेश गरिएका घलेलाई धरौटीमा छुटाइदिने भन्दै उनकी पत्नीबाट रकम लिएको सूचनाका आधारमा उनीहरूलाई अदालत परिसरबाट नगदसहित पक्राउ गरिएको काठमाडौं जिल्ला अदालतले जनाएको छ। उनीहरूले धराैटीका लागि न्यायाधीशलाई पैसा दिएर मिलाउने भन्दै पैसा उठाएका थिए ।

पक्राउ पर्नेमा नुवाकोट सूर्यगढी गाउँपालिका–६ का अजय थापा मगर र नुवाकोटकै विदुर नगरपालिका–९ का हरिराम गिरी रहेका छन्।
काठमाडौं जिल्ला अदालतले असोज २ गते जारी गरेको प्रेस विज्ञप्तिमा उनीहरूलाई अदालत परिसरबाटै नगदसहित पक्राउ गरिएको उल्लेख छ। अदालतका सूचना अधिकारीद्वारा जारी विज्ञप्तिमा पक्राउको घटनाबारे जानकारी दिइएको हो।
अदालत परिसरमै मुद्दाका प्रतिवादीलाई धरौटीमा छुटाइदिने भन्दै रकम लेनदेन भएको घटनाले अदालतभित्र हुने गतिविधिको निगरानी र सुरक्षामाथि समेत प्रश्न उठाएको छ।

प्रकाशित मिति : September 19, 2026 at 7:39 pm




