१ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026

विश्वकर्मा पूजाको अवसरमा सिप्रदीद्वारा एकै दिन देशभर १५० वटा टाटा गाडीको डेलिभरी

१ असोज, काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले विश्वकर्मा पूजाको शुभ अवसर पारेर एकै दिन देशभर १५० वटा टाटाका सवारीसाधन ग्राहकलाई हस्तान्तरण (डेलिभरी) गरेको छ । नेपाली समाजमा नयाँ सवारीसाधन, यन्त्र तथा उपकरण खरिद गरी पूजाआजा गर्ने विशेष दिनका रूपमा विश्वकर्मा पूजालाई लिइन्छ । यही धार्मिक तथा सांस्कृतिक अवसरलाई मध्यनजर गर्दै कम्पनीले आफ्ना देशभर रहेका २२ वटा आधिकारिक शोरुमहरूबाट एकसाथ ती गाडीहरूको डेलिभरी दिएको हो ।

कम्पनीका अनुसार हस्तान्तरण गरिएका गाडीहरूमा पछिल्लो समय नेपाली बजारमा लोकप्रिय बन्दै गएका टाटाका आधुनिक विद्युतीय सवारीसाधन (ईभी) र इन्टर्नल कम्बसन इन्जिन (आईसीई) युक्त गाडीहरू रहेका छन् । विशेषगरी, विद्युतीय खण्डमा टाटाका नयाँ पुस्ताका मोडलहरू जस्तै— नयाँ टियागो ईभी, नयाँ पन्च ईभी, नेक्सन ईभी रिलोडेड तथा भर्खरै चर्चामा रहेको कर्भ ईभी प्रति ग्राहकको अत्यधिक आकर्षण देखिएको छ । यसका साथै परम्परागत इन्धन (पेट्रोल/डिजेल) बाट चल्ने आईसी इन्जिनयुक्त मोडलहरू समेत उत्साहजनक संख्यामा हस्तान्तरण गरिएको सिप्रदीले जनाएको छ ।

डेलिभरी गरिएका अधिकांश गाडीहरू हालै सम्पन्न भएका ‘नाडा अटो शो’ तथा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ का क्रममा सार्वजनिक, लन्च तथा बुकिङ भएका सवारीसाधन हुन् । अटो शो तथा मोबिलिटी एक्स्पोमा ग्राहकहरूबाट प्राप्त उत्साहजनक प्रतिक्रिया र बुकिङपछि वित्तीय तथा प्राविधिक प्रक्रिया पूरा भएका गाडीहरूलाई विश्वकर्मा पूजाको साइत पारेर घर भित्र्याउने व्यवस्था मिलाइएको कम्पनीले स्पष्ट पारेको छ ।

पछिल्लो समय नेपालमा वातावरणीय दिगोपन र इन्धन बचतका कारण विद्युतीय सवारीसाधनप्रति उपभोक्ताको प्राथमिकता तीव्र गतिमा बढिरहेको छ । यस्तो अवस्थामा एकै दिन यति ठूलो संख्यामा गाडीहरू डेलिभरी हुनुले नेपाली अटोमोबाइल बजारमा टाटा मोटर्स र सिप्रदी ट्रेडिङप्रतिको विश्वसनीयता अझ बलियो भएको पुष्टि गर्दछ ।

सिप्रदी ट्रेडिङका अनुसार कम्पनीले केवल गाडी बिक्रीमा मात्र सीमित नभई आधुनिक प्रविधि, उच्चस्तरीय सुरक्षा, भरपर्दो चार्जिङ नेटवर्क तथा बिक्रीपछिको उत्कृष्ट सेवा (आफ्टर सेल्स सर्भिस) प्रदान गर्दै आएकाले ग्राहकको पहिलो रोजाइ टाटा बन्न सफल भएको हो ।

प्रकाशित मिति : September 17, 2026 at 6:01 pm